सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएको ३ घण्टापछि अनलाइनमा लिक

भारतीय फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएको ३ घण्टापछि अनलाइनमा लिक भएको छ ।

अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ । उक्त फिल्म रिलिज भएको ३ घण्टामा नै अनलाइनमा लिक भएको छ । ४ सय १० करोड भारतीय रुपैयाँको लगानीमा बनेको यो फिल्म धेरै पाइरेसी साइटमा एचडी क्वालिटीमा उपलब्ध छ ।

भारतीय सञ्चार माध्यमका अनुसारको फिल्मको एचडी प्रिन्ट तमिल रकर्स, मूवीरुल्ज, फिल्मिजिला, १२३ मुभिज, टोरेन्ट र टेलिग्राम जस्ता अनलाइनहरूमा लिक भएको छ ।

सकारात्मक समीक्षा र बृहत अग्रिम टिकट बुकिङको बावजुद फिल्मको लिकले बक्सअफिसमा असर गर्न सक्छ। जसका कारण फिल्मका निर्माताले ठूलो घाटा बेहोर्नु पर्ने हुनसक्छ ।

केही दिनअघि निर्माताहरूले अनलाइन पाइरेसी साइटहरूविरुद्ध दिल्ली उच्च अदालतमा उजुरी दर्ता गरेका थिए । जसको सुनुवाई गर्दै अदालतले त्यस्ता १८ वेबसाइटलाई प्रतिबन्ध लगाउन आदेश दिएको थियो ।

यति हुँदाहुँदै पनि ब्रह्मास्त्र एचडीमा लिक भयो । तर, अनलाइनमा फिल्म लिक भएको यो पहिलो पटक भने होइन । यसअघि आमिर खानको ‘लाल सिंह चड्ढा’, अक्षय कुमारको ‘रक्षाबन्धन’ र रणवीर कपूरको ‘शमशेरा’ जस्ता भर्खरै रिलिज भएका चलचित्रहरू पनि पाइरेसीको सिकार भएका थिए ।

अयान मुखर्जी निर्देशित फिल्म ‘ब्रह्मास्त्र’ रिलिज हुनुअघि नै निकै चर्चामा थियो । भारतीय फिल्म बहिष्कार गर्ने प्रवृत्ति चलिरहेका बेला फिल्मको अग्रिम बुकिङ निकै राम्रो रहेको थियो ।

फिल्मले पछिल्ला रिलिज भएका फिल्महरूलाई पछि पर्दै बलिउड फिल्ममा सबैभन्दा ठूलो ओपनिङ गरेको छ । फिल्मले २८.५ करोड भारुको अग्रिम बुकिङ गरेको थियो ।

‘ब्रह्मास्त्र’ मा आलिया–रणवीरका अलावा अमिताभ बच्चन, नागार्जुन र मौनी रोय पनि मुख्य भूमिकामा देखिएका छन् । फिल्मलाई हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा हलमा रिलिज गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १८:१८