सूचनाको शक्ति - The Power Of Information

        

सरस्वती पूजाको कथाले जित्यो एमी अवार्ड

सरस्वती पूजामाथि जसवन्तदेव श्रेष्ठले निर्देशन गरेको फिल्म ‘फेस्टिभल अफ सरस्वती पूजा‘ले हलिउडमा टेलिभिजनतर्फको ओस्कार मानिने प्रतिष्ठित एमी अवार्ड जितेको छ ।

नेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एन्ड साइन्सेज प्यासिफिक साउथवेस्टले आइतबार राति आयोजना गरेको अवार्ड समारोहमा उनले ट्रफी उचाले ।

उनको यो सांस्कृतिक फिल्मले ‘आउटस्ट्यान्डिङ अचिभमेन्ट इन द रेलिजियन’ विधामा जित हासिल गरेको हो । क्यालिफोर्नियाको पाम स्प्रिङमा आयोजित एमी समारोहमा उनले ट्रफी उचाल्दै आफूलाई मतदान गर्ने एमीका सदस्यसहित नेपालीलाई धन्यवाद दिए ।

श्रेष्ठ निर्देशित फिल्मले ज्ञान र कलाकी माता मानिने सरस्वती पूजाको महत्व र संस्कृतिका पाटोलाई चित्रण गर्छ । नेपाली संस्कृतिलाई जोगाउने अभियानको रुपमा आफू अझै अघि बढ्ने उनले बताए ।

जितपछि जारी प्रेस विज्ञप्तिमा उनले फिल्ममार्फत नेपाली संस्कृतिलाई संरक्षण र अघि बढाउन आफूलाई ऊर्जा मिलेको बताएका छन् ।

जसवन्तले राजवल्लभ कोइराला अभिनित र रिक म्याकफारल्यान्डले निर्देशन गरेको फिल्म ‘हाइवे टु धम्पुस’मा पनि काम गरिसकेका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार ०९:२८