सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर नगरपालिकामा बेथिति

स्वास्थ्य संस्था एम्बुलेन्सबिहीन, मेयर लुटबहादुरलाई विलासी कार

‘आवासको सेवा लिने कर्मचारीलाई समेत सुविधाका लागि भन्दै गाडी खरिद गर्नु भ्रष्टाचार हो ।’

बाँके । बाँकेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतको विलासिताका लागि सुविधायुक्त कार खरीद गरेपछि निकै आलोचना भइरहेको छ । दुईवटा सवारी साधन हुँदाहुँदै फेरि सुविधायुक्त कार खरिद भएपछि कोहलपुरबासीले मेयर रावतको चर्को आलोचना गरिरहेका छन् । मेयर रावतको विलासिताका लागि सुविधायुक्त कार खरीद गर्ने कोहलपुर नगरपालिकाका स्वास्थ्य संस्था भने एम्वुलेन्सबिहीन छन् ।

कोहलपुर नगरपालिका अन्तरगत १५ वटा स्वास्थ्य संस्था छन् । कुनै पनि स्वास्थ्य संस्थामा एउटा पनि एम्बुलेन्स छैन । जसका कारणले यहाँका स्थानीयबासिन्दाको विगतको सास्ती यथावतै रहेको छ । नेपालगन्ज उपमहानगरपालिकापछि जिल्लाको दोस्रो ठूलो सहरका रूपमा रहेको कोहलपुरमा तीन स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य केन्द्र र एउटा सहरी स्वास्थ्य क्लिनिक छन् । कुनै पनि स्वास्थ्य संस्थामा एम्वुलेन्स छैनन् ।

कारभन्दा एम्बुलेन्स आवश्यक भएको भन्दै कोहलपुरबासीले मेयर रावतको चर्को आलोचना गरिरहेका छन् । मेयरको ठाडो निर्देशन र मनपरीमा चरणबद्ध सरकारी सम्पतिको दोहन तथा दुरूपयोग भइरहेका बेला स्वास्थ्य संस्था एम्वुलेन्सविहीन हुनुले नागरिकको स्वास्थ्यप्रति नगरपालिका उदासिन बनेको कोहलपुर–१, का स्थानीयबासी रमेश सिंहले बताए । जनप्रतिनिधिले जनताको ढाड भाँच्ने गरेर बजेटको दुरुपयोग गरिरहेका छन् ।

‘आवासको सेवा लिने कर्मचारीलाई समेत सुविधाका लागि भन्दै गाडी खरिद गर्नु भ्रष्टाचार हो,’ सिंहले भने । नगरपालिकाले बर्सेनी नयाँ गाडी खरिद गरेर सरकारी सम्पति फजुल दोहन गरिरहँदा एउटा एम्वुलेन्स खरीद गर्न सकेको छैन । नगरपालिकाले विलासिताका लागि सवारी साधन खरिद गर्नुभन्दा एम्वुलेन्स खरीद गर्नुपर्नेमा मेयर रावतको ठाडो निर्देशनमा आवश्यकता पहिचान गाडी खरिद गरेर फजुल खर्च गरिएको स्थानीय खिलप्रसाद भुषाल बताउँछन् ।

यो पनि पढ्नुस् : कोहलपुरमा मेयर लुटबहादुरको ब्रह्मलुट, ‘जनताको ढाड भाँचिने गरी बजेट दुरुपयोग’

कोहलपुर नगरपालिका मातहत दुई वटा बर्थिङ सेन्टरसमेत एम्वुलेन्सबिहीन छन् । ‘बर्थिङ सेन्टरबाट बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको अवस्थामा सधैँ एम्बुलेन्सको अभाव खट्किन्छ,’ स्वास्थ्य शाखा प्रमुखका रूपमा कार्यरत स्थानीयवासी डिल्ली पोखरेलले भने, ‘पटक–पटक स्वास्थ्य शाखाले एम्बुलेन्सको माग गरे पनि खरिद गरिएको छैन ।’ स्वास्थ्य संस्थामा एम्बुलेन्स नहुनुको पीडा सहरीभन्दा पनि ग्रामीण क्षेत्रका नागरिकलाई बढी छ ।

नगरपालिकाले नयाँ एम्बुलेन्स खरिद नगरी भाँडामा सञ्चालन गर्दै आएको र यसबाट सेवाको प्रभावकारिता हुन नसकेको स्वास्थ्य शाखा प्रमुख पोखरेलको भनाइ छ । कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक कार्यपालिका सदस्य नारायणी वलीले एम्बुलेन्स खरिदका लागि नियमित रूपमा दुई आर्थिक वर्षमा बजेट विनियोजन भए पनि विभिन्न कारणले एम्बुलेन्स खरिद गर्न नसकिएको बताइन् ।

‘कोहलपुरका लागि कम्तीमा एउटा एम्बुलेन्स आवश्यक ठानेर बारम्बार बजेट विनियोजन गरेका छौँ,’ वलीले भनिन्, ‘कार्यपालिकाले गरेको निर्णयअनुसार एम्बुलेन्स खरिद हुन सकेको छैन ।’ नगरपालिकाले गुणस्तरीय र सुविधायुक्त एम्बुलेन्स खरिद गर्न खोजेको जानकारी दिँदै उनले बढी मूल्य पर्ने भएकाले भन्सार शुल्क बढी पर्ने भएपछि खरिद हुन नसकेको जानकारी दिइन् । नगरपालिकाको विकास निर्माण शुन्यजस्तै अवस्थामा देखिएको छ ।

नेकपा कोहलपुरकी नगर अध्यक्ष बसन्ती अधिकारीले कोहलपुर नगरपालिकाले प्रसुति गृह बनाउन नसकेर प्रतिवर्ष करिव दुई करोड बढी रकम मेडिकल कलेजमा दिने गरेको अवस्थामा नयाँ गाडी खरिद गरी सरकारी सम्पति दोहन गर्नु ठिक नभएको बताइन् । नगरपालिकामा बसोवास गर्ने सबै जनताको हातहातमा मोवाइल र घडी भएको अवस्थामा कोहलपुरको गोलपार्कमा घण्टाघर निर्माण गर्नु नै गलत भएको स्थानीयको भनाई छ ।

यो पनि पढ्नुस् : अनियमितता लुकाउन स्थानीय तहमा झुटको खेती, सूचना माग्दा ‘घुस’ !

मेयर रावतले यहाँ पनि जबरजस्ती निर्माणको काम अघि बढाएको नागरिकको आरोप छ । जनतालाई स्वास्थ्य शिक्षा, खानेपानी, सरसफाई र विकास निर्माणका पूर्वाधार समस्या भएका बेला मेयर रावतको विलासिताका लागि नगरपालिकाले गाडी खरिद गर्नु भ्रष्टाचार नै हो । पछिल्लो समयमा जनप्रतिनिधि र कर्मचारीको सरकारी सम्पत्तीमा राज छ । नगरपालिकाकी उपमेयर सञ्जुकुमारी चौधरीले पनि गाडी खरिद गर्ने निर्णय भएको स्वीकार गरिन् ।

बाहिर विरोध गरे पनि गाडी खरिदमा उपमेयर थारूको आन्तरिक सहमति देखिए पनि एम्वुलेन्स खरीद गर्ने विषयमा चुइक्क बोल्न नसकेको नागरिकहरुको आरोप छ । पर्याप्त सवारी साधन हुँदाहुँदै मेयरको विलासिताका लागि लाखौंको गाडी खरीद गरेको नगरपालिकाले भन्सार छुटमा सस्तोमै किन्न सकिने एम्वुलेन्स खरीद नगरेर नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिरहेको कोहलपुर नगरपालिका–६ का स्थानीय नरेन्द्र सुवेदीले बताए ।

नगरपालिकाका सूचना अधिकारी हरी वलीका अनुसार नगरपालिकाले गाडी खरिद गरिसकेको छ । नगरपालिकामा हाल एउटा महिन्द्राको स्कारपियो, एउटा टाटा सुमो गाडीका साथै कर्मचारी र जनप्रतिनिधिका लागि २९ वटा बाइक र एउटा स्कुटर रहेको स्टोर प्रमुख ईन्द्र ढकाल बताउँछन् । स्थानीय तहको निर्वाचनपछि कार्यभार सम्हालेदेखि विवादमा आइरहेका मेयर रावत जनविरोधी र विकास विरोधी मेयरका रुपमा चिनिन्छन् ।

यो पनि पढ्नुस् : कोहलपुरमा बेतिथि – प्रसुति गृहको रकममै लुटतन्त्र

केही महिनाअघि हाइमास्टमा बत्ति बाल्न विद्युत प्राधिकरणको सहमतिविनै विद्युत चोरीको आरोप लागेको नगरपालिका र विकास निर्माण छाडेर सरकारी सम्पतिको चरम दोहनमा सक्रिय भएको आरोप खेपिरहेका मेयर रावतले विलासिताका नयाँ गाडी खरिद गरेर सरकारी सम्पतिमा लुट मच्चाएको कोहलपुरबासीको आरोप छ । पटक पटक आरोप र विवादमा फस्दै आएका मेयरले नगरबासीलाई विभेद गरेको आरोपमा फसेका छन् ।

केही दिनअघि कोहलपुर नगरपालिका–११ का केही स्थानीय नेकपाभन्दा फरक आस्थाको राजनीतिमा सक्रिय देखिएपछि मेयरले सरकारी सेवा नै रोकेको काँग्रेस निकट नेता तथा कार्यकर्ताले खुलासा गर्दै उनीहरुले नगरपालिका घेराउसमेत गरेका थिए । कोहलपुर नगरपालिका–११ स्थित लोकनगरका अव्यवस्थित भूमिहिन तथा सुकुम्बासीले मेयर रावतको उदासिनता, मनखुशी, बदमासी र लुटतन्त्र तथा विभेद गरेको आरोप लागेको थियो ।

लोकनगरका अव्यवस्थित भूमिहिन तथा सुकुम्बासीले फरक आस्था भएकै कारण मेयरले रावतले आफूहरूलाई सरकारी सेवा सुविधाबाट बञ्चित गरेको भन्दै नगरपालिका घेराउ गरेका थिए । उनीहरूका मागप्रति मेयर रावत र नगरपालिकाका जनप्रतिनिधि उदासीन देखिएपछि मेयर रावतको विरोध गर्दै आएका छन् । मेयर रावतले राजनीतिक आस्था र विभेदका आधारमा स्थानीयलाई दुख दिँदै आएको सुकुम्वासीहरुको आरोप छ ।

यो पनि पढ्नुस् : कोहलपुर नगरपालिकाद्वारा कृषि अनुदानको खुलेआम दुरूपयोग

अव्यवस्थित भूमिहिन तथा सुकुम्बासी समितिले अव्यवस्थित भूमिहिन दलित तथा सुकुम्बासीको लगत तत्काल लिनुपर्ने, बसाईसराई लगायत व्यक्तिगत घटना तत्काल दर्ता गरि दिनुपर्ने, विवाह, जन्मदर्ता गर्नुपर्ने र नगरपालिका क्षेत्रमा बसोबास गर्ने अव्यवस्थित तथा सुकुम्बासीको पहिचान गरी तत्काल स्थायी समास्या समाधानका लागि पहल गर्नुपर्ने लगायतका माग छन् । तर, कोहलपुर नगरपालिकाका मेयर रावतले भने आफूले राजनीतिक आस्थाका आधारमा कसैलाई पनि सरकारी सेवा सुविधाबाट बन्चित नगरेको जिकिर गरेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार १६:४६