बाँके । बिहीबार चन्द्रागिरीमा पोजेटिभ भेटिएका ३२ वर्षीय पुरुष पनि काठमाडौं बाहिरबाटै गएको पुष्टि भएको छ । सशस्त्र प्रहरीमा कार्यरत ती प्रहरीको स्थायी घर नेपालगन्ज भएको र उनी विदामा नेपालगन्ज आएको जनाइएको छ ।
सशस्त्र प्रहरी स्रोतका अनुसार उनी यसअघि भेटिएकी २५ वर्षीय संक्रमित महिलासँगै एउटै गाडीमा काठमाडौं गएका थिए । यद्यपी उनी शसस्त्र प्रहरी कार्यालयमा उपस्थित नभई आफ्नो स्वास्थ्य परीक्षण गराएको स्रोतले बताएको छ । आज बिहान संक्रमण पुष्टि भएका ३२ वर्षीय पुरुष पनि संक्रमित महिलासँगै एउटै गाडीमा काठमाडौं पुगेको पुष्टि भएको छ ।
स्रोतले भन्यो, ‘हामीले उक्त गाडीमा आएका अन्य मानिसहरुको पनि स्वास्थ्य परीक्षण गराइरहेका छौँ । उनीहरु नेपालगन्जबाट नै गाडीको पास बनाएर तीन दिन अघिमात्रै काठमाडौं गएको पत्ता लागेको छ । महिलाको श्रीमान पनि शसस्त्र प्रहरीका कर्मचारी भए पनि अहिले संक्रमित भएका पुरुष ती महिलाका श्रीमान भने होइनन् । ती महिलाका श्रीमान काठमाडौंमै थिए ।’
महिला आफ्ना दुई जना बच्चासँगै काठमाडौं गएको जनाइएको छ । संक्रमण फैलिएको स्थानबाट आएको हुनाले उनीहरुलाई सुरुमै स्वास्थ्य परीक्षणका लागि टेकु अस्पताल लगिएको थियो । त्यसपछि उनीहरु आआफ्नो कोठामा गएको भए पनि अन्य मानिसहरुसँग भेटघाट नभएको स्रोतले बताएको छ ।
सत्यपाटी ।