सूचनाको शक्ति - The Power Of Information

        

प्रयाप्त छैनन् उद्धार सामाग्री, दाङका ३५ वडा डुवानको उच्च जोखिममा

फाइल तस्वीर

फाइल तस्वीर


सपना बोहरा । घोराही । यो वर्षको मनसुन ढिला सक्रिय भएको छ । ढिला समयमा हुने मनसुनले थोरै समयमा धेरै वर्षा हुन सक्ने मौसमबिदको पूर्वानुमान छ । जसले गर्दा ठुलो क्षति हुन सक्ने संभावना हुन्छ । दाङ समथर भूभाग भएकाले डुवानको निकै जोखिममा पर्दछ ।
बर्षाको समयमा खोला नाला वढने र वस्तीहरु डुवानमा पर्छ । विगतको वर्षहरुमा ववई नदिमा वढेको वहावले पश्चिम क्षेत्रका वस्तीहरु डुवानमा परेको थियो भने राप्ती नदिले देउखुरीवासीलाई निकै सास्ती भोग्नुपरेको थियो । खोला नाला बढेर र भारी वर्षा परेर दाङका देउखुरी तथा बवई क्षेत्रका आसपासका वस्तीहरु डुवानमा पर्नु कुनै नौलो विषय भने होइन ।
दाङ जिल्लामा मुख्य राप्ती र बवई नदिमा आउने बाढीका कारण सो अन्तर्गतको तटिय क्षेत्र र अन्य ससाना खहरे खोलामा आउने बाढी नै प्रमुख बिपदको रुपमा रहेको छ । बाढीको दृष्ट्रिकोणले जिल्लाको १० वटा स्थानीय तहहरु मध्ये ८ वटा स्थानिय तहका ३५ वटा व वडाहरु उच्च जोखिममा रहेका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालका अनुसार २५ वटा वार्डहरु मध्यम जोखिमको सूचीमा रहेका छन् भने ४० वटा वडाहरु बाढीको दृष्टिकोणले न्यून जोखिममा रहेका छन् ।
बिगतको बिपद् प्रभाव क्षेत्र, घटिरहने बिपद्का घट्ना, बिपद्का कारण भएको क्षतिको तथ्यांकको आधारमा बिष्लेषण गरिएको सूचना व्यवस्थापन अधिकृत दाहालले वताए । जसमा सबैभन्दा उच्चदेखि मध्यम जोखिमको रुपमा राजपुर, गढवा, राप्ती गाउपालिका, लमही नगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगिशरण, बवई र शान्तिनगर गाँउपालिका, घोराही उपमहानगरपालीका रहेका छन् । त्यस्तै बाढीको बम जोखिम तथा पहिरोको उच्च जोखिममा बंगलाचुली गाँउपालिका रहेको छ ।

तर बाढिको समयमा खोला नाला बढि हाल्यो र कुनै क्षेत्र डुवानमा परयो भने उद्धारका लागि जिल्ला आवश्यक पर्ने प्रयाप्त मात्रामा उद्धार सामाग्री नै छैनन् ।

२०७१ देखि २०७४ को बाढीको प्रतिकार्य अनुभव सिकाई र प्रभावलाई हेर्ने हो भने यसबर्ष पनि बाढीले लगभग १ हजार घरधुरीका झण्डै पाँच हजार जनसंख्यालाई प्रत्यक्ष प्रभाव पर्न सक्ने अनुमान गरिएको उनले बताए । ५ सय घरधुरी पूर्ण क्षति भई बिस्थापित नै हुनसक्ने आँकलन जिल्ला बिपद ब्यवस्थापन समितिले गरेको छ भने ३ सय घर आंशिक क्षति, २ सय घरपरिवार १ हप्तादेखि १ महिनासम्म बिस्तापित हुनसक्ने आँकलन गरिएको छ ।
वर्षेनी जिल्लावासीले वर्षाको समयमा डुवानको समस्या झेल्दै आएका छन् । यो वर्ष पनि वर्षा शुरु भईसकेकाले जिल्लावासीले त्यो समस्या झेल्नुपर्दैन भन्न सकिन्न । तर बाढिको समयमा खोला नाला बढि हाल्यो र कुनै क्षेत्र डुवानमा परयो भने उद्धारका लागि जिल्ला आवश्यक पर्ने प्रयाप्त मात्रामा उद्धार सामाग्री नै छैनन् । जिल्ला प्रहरी कार्यालय दाङले वर्षाको समयमा उद्धार गर्नको प्रहरीहरु तयारी अवस्थामा राखेको छ ।
बाढिमा उद्धार गर्नको लागि २५ जना प्रहरी तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रामप्रसाद घर्तीले बताए । ‘ईलाका प्रहरी कार्यालयमा पनि उद्धारको लागि तयारी अवस्थामा छन्,’ डिएसपी घर्तिले भने ‘तर उद्धार गर्नको लागि प्रहरीहरुलाई आवश्यक पर्ने उद्धार सामाग्रीहरु प्रयाप्त मात्रामा छैन् ।’ डुवानको समयमा उद्धार गर्नको लागि प्रहरीहरुलाई लाइभ ज्याकेट, स्ट्रेचर, डोरी, नदिले पुरिएको क्षेत्रमा खन्नको लागि आवश्यक पर्ने गैती, फरुवाको आवयक पर्छ ।
ति सामाग्रीहरु प्रयाप्त मात्रामा उपलब्ध नभएको उनले वताए । मौसम विभाग कार्यालय घोराहीका प्रमुख राजु मिश्रले जिल्लामा १ सय मिलिमिटर वढि पानी परेमा खोला नाला बढ्ने र डुवान हुने सम्भावना भएको बताए । विगतका वर्षहरुको तुलना गर्दा १ सय मिलिमिटर बढि पानी परेमा खोला नाला बढेर डुवानमा पर्ने निकै सम्भावना हुने उनले बताए ।

प्रकाशित मिति : १२ असार २०७५, मंगलवार ०६:२०