सूचनाको शक्ति - The Power Of Information

        

फिल्म उद्योग बचाउने हो भने फिल्म नजुधाउँदा नै राम्रो : वितरक तथा निर्माता क्रेजी 

काठमाडौं । चलचित्र निर्माता, वितरक तथा कलाकार करण श्रेष्ठ क्रेजीले फिल्म उद्योग बचाउन फिल्म चलाउने मिति नजुधाउन फिल्मकर्मीहरुलाई आग्रह गरेका छन् ।
निर्माता श्रेष्ठले फिल्म जुधाएर कसैलाई पनि राम्रो नहुने बताए । उनले भने, “ हामी आफैंले नै चलचित्र उद्योगलाई धरासायी बनाएका हौं । फिल्म आफैं बनाउँछौं अनि चलाउन आफैं जुधाउँछौं । यसले कसैलाई राम्रो गर्दैन ।” चलचित्र निर्माता संघका सदस्य समेत रहेका श्रेष्ठले नेपाली फिल्म उद्योग बचाउन सबैजना लाग्नुपर्ने बताए । धेरै फिल्महरु एकै चोटि रिलिज हुँदा निर्माताहरु डुब्ने गरेको उनको भनाई छ ।
चलचित्र ‘चङ्गा’ को वितरण गर्ने जिम्मा लिएका श्रेष्ठले जेठ २५ गते धेरै चलचित्रहरु जुधेकोमा दुःख प्रकट गरेका छन् । फिल्म निर्माता तथा निर्देशक किशोर भण्डारी ‘डिट्ठा साब’ले निर्माण गरेको चलचित्र ‘चङ्गा’ जेठ २५ गते देशव्यापी प्रदर्शन हुँदैछ ।
फिल्मलाई मोफसलमा एफडी कम्पनी र उपत्यकामा श्रेष्ठको रिच इन्टरटेनमेन्ट कम्पनीले वितरण गर्ने जिम्मा लिएको छ । वर्षमा २–३ वटा फिल्मको वितरण गर्ने जिम्मा लिंदै आएका श्रेष्ठले यसरी एक आपसमा फिल्म जुध्ने भएकाले घाटा लाग्दै गएको बताए । उनले सिंगो नेपाली चलचित्र क्षेत्र र निर्माताहरुको हकहितका लागि सधैं लागिपर्ने बताए ।
उनी २०६९ सालदेखि चलचित्र निर्माणको क्षेत्रमा लागेका हुन् । चलचित्र क्षेत्रमा उनी करण क्रेजीका नाममा चिनिन्छन् । ओम, जंजीर, जंगभूमि र छेस्को उनले लगानी गरेको चलचित्र हो । चलचित्र निर्माणमा लाग्नु अघि उनी यो क्षेत्रमा कलाकारको रुपमा चिनिएका थिए । २०५७ सालदेखि उनी चलचित्र क्षेत्रमा आबद्ध छन् । उनले जवाफ, टक्कर दुई मुटुको, जंगली क्वीन, दुई दुना पाँच, चिनारी, सम्झिदिए पुग्छ, एटीएम, छेस्को, ओम र ह्यापी न्यु एयर लगायत २१ वटा चलचित्रमा अभिनय गरिसकेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आइतवार ०९:२२