सूचनाको शक्ति - The Power Of Information

        

‘आशिकी ३’मा वरुण–आलियाको जम्दै छ जोडी

मुम्बई  – बलिउडमा संघर्षरत अभिनेता राहुल रायलाई फिल्म ‘आशिकी’ले रातारात स्टार बनाएको थियो। त्यसको डेढ दशकपछि उसैगरी संघर्षरत आदित्यरोय कपुर पनि स्टार बने ‘आशिकी २’ खेलेर। यही फिल्मबाट डेब्यु गरेकी श्रद्धा कपुरले पनि यो फिल्मपछि पछाडि फर्केर हेर्न परेन। दोस्रोको सफलतापछि विशेष फिल्मले तेस्रो बनाउने तयारी गरिरहँदा ‘आशिकी ३’मा को रहने भन्ने अनुमान लामो समयदेखि चलिरहेको थियो। फिल्मको फिमेल लिडमा आलिया भट्ट फाइनल भएको समाचार आइरहँदा उनको जोडीको रुपमा सिद्धार्थ मल्होत्रालाई विशेष फिल्मले लिन लागेको खबर थियो्। तर पछिल्लो समाचार अनुसार सिद्धार्थ हैन, विशेष फिल्मले वरुण धवनलाई लिन लागेको छ।

वरुण र आलियाको जोडीले सफलतामा ह्याट्रिक गरेको छ। दुवैले जोडीको रुपमा अभिनय गरेका ‘स्टुडेन्ट अफ दि इयर’, ‘हम्टी शर्माकी दुल्हनियाँ’ र ‘बद्रिनाथकी दुल्हनियाँ’ तीनै फिल्मले बक्स अफिसमा पैसुा बर्साएका थिए।

विशेष फिल्मले वरुण धवन र आलिया दुवैको फ्यान फलोइङलाई ध्यान राख्दै तेस्रो शृंखलामा दुवैलाई साइन गराएको समाचारमा उल्लेख छ। तर वरुण र आलिया दुवैले स्वतन्त्र रुपमा यो समाचारको पुष्टि गरेका छैनन्।

दुवै शृंखलाको फिल्मको सफलताका पछाडि संगीतको मुख्य हात मानिएको थियो। तेस्रो भागमा पनि संगीतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रडक्सन हाउसले जनाएको छ।

पहिलो आशिकीलाई महेश भट्टले निर्देशन गरेका थिए भने दोस्रोलाई मोहित सुरीले। तेस्रो भाग पनि उनलै निर्देशन गर्ने विशेष फिल्मस्ले जनाएको छ।

हाल आलिया ‘बम्हास्त्र’ र ‘गली ब्वाई’को सुटिङ गरिरहेकी छिन् भने वरुण ‘सुई धागा’को सुटिङ गरिरहेका छन्।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ०३:१६