सूचनाको शक्ति - The Power Of Information

        

सात मुख्यमन्त्री पदका लागि २३ आकांक्षी


काठमाडौँ । संघीय संरचनामा पहिलोपटक भएको प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आइसकेको छ । परिणामसँगै प्रादेशिक सरकारको खाका र समीकरण पनि चर्चामा छ । अधिकार सम्पन्न प्रदेशको मुख्यमन्त्री को बन्छ ? धेरैलाई चासोको विषयसमेत छ । प्रदेशको मुख्यमन्त्रीको सम्भावित दावेदार बनेर कतिपय हेभिवेट नेताहरु प्रदेशसभा सदस्य निर्वाचनमा होमिएका थिए ।
कतिपय नवप्रवेशीले पनि प्रदेशको मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् । दलीय गठबन्धनका दौरान नै कतिपय प्रदेशमा मुख्यमन्त्रीका रुपमा प्रस्तावित उम्मेदवार चुनावमा विजयी भएका छन् । चुनावी परिणामले प्रदेश १ र ३ मा एमालेलाई एकल बहुमत दिएको छ । अन्य कुनै पनि प्रदेशमा एकमात्र दलको बहुमत छैन् । गठबन्धन सरकार नै ती प्रदेशका विकल्प हुन् । प्रदेश ६ मा एमाले बिना सरकार गठन हुन नसक्ने अवस्था छ । अन्य प्रदेशमा भने सवै विकल्प खुला छन् ।

यस्ता छन् आकांक्षी
प्रदेश १ बाट वाम गठबन्धनबाट एमालेले मुख्यमन्त्री पाउने करिव सहमति जस्तै छ । जहाँ पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई र पूर्व पर्यटनमन्त्री समेत रहेका एमाले सचिव भीम आचार्य आकांक्षी छन् । मुख्यमन्त्रीको दावीसहित दुवै नेता प्रदेशसभामा चुनाव लडेका हुन् । एमालेको आन्तरिम समीकरण र पछिल्ला राजनीतिक घटनाक्रमले आचार्यभन्दा राई मुख्यमन्त्रीका बलिया उम्मेदवार हुन् ।
प्रदेश २ मा राजपा फोरम गठबन्धनले अन्य दलको सिट सहयोगले मात्र सरकार बनाउन सक्छन् । अन्य दलबाट सरकार बनाउन पनि गठबन्धनकै दलको सहायता आवश्यक पर्छ । गठबन्धनबाट अहिलेसम्म फोरमका विजय यादव र लालबाबु राउतको नाम मुख्यमन्त्रीका रुपमा चर्चामा छ ।
प्रदेश ३ को मुख्यमन्त्रीमा एमालेमा मात्रै ६ जनाको दावी छ । एमालेबाट राजेन्द्र पाण्डे, पशुपति चौलागाईँ, अरुण नेपाल, कैलाश ढुङ्गेल, अष्टलक्ष्मी शाक्यदेखि केशव स्थापितसम्मले मुख्यमन्त्री दावी गरेका छन् । तर, दुई पटक ‘मन्त्री’को अफर छाडेकी अष्टलक्ष्मी शाक्यको सम्भावना सवैभन्दा बलियो रहेको बुझिन्छ ।
स्पष्ट बहुमत नभएका कारण प्रदेश ४ मा एमाले र माओवादी केन्द्र दुवैको मुख्यमन्त्रीमा दावी छ । एमालेबाट पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले मुख्यमन्त्रीमा दावी गरेका छन् । किरण एमाले प्रदेश नम्बर ४ का इञ्चार्ज पनि हुन् । माओवादी केन्द्रबाट प्रदेश ४ मा मुख्यमन्त्रीको दावी भएको छ । कास्कीका सह–इञ्चार्जसमेत रहेका दीपक कोइरालाले मुख्यमन्त्रीको दावी गरेका छन् । तर, प्रदेश ४ को मुख्यमन्त्रीमा एमालेकै दुई नेतामध्ये एकको सम्भावना छ ।
प्रदेश ५ मा वाम गठबन्धनभित्र शंकर पोखरेल मुख्यमन्त्रीमा पहिलो दावेदार हुन् । कृष्णबहादुर महरासँग टिकटमा विवाद भएपछि दाङ २ को प्रदेशसभा राजेका एमाले नेता पोखरेल प्रदेश ५ का करिव निर्विकल्प मुख्यमन्त्रीका उम्मेदवार हुन् । महरालाई दाङ २ मा प्रतिनिधिसभातर्फ टिकट दिँदा पोखरेललाई मुख्यमन्त्री बनाउने आश्वासन गठबन्धनले दिइसकेको छ ।
प्रदेश ६ मा मुख्यमन्त्री माओवादीले पाउने गठबन्धनको आन्तरिक सहमति छ । जहाँ माओवादीका तर्फबाट कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश भण्डारी मुख्य आकांक्षी छन् । सल्यानमा प्रतिनिधिसभामा टिकट दावी गरेका एमालेका प्रकाश ज्वाला र सुर्खेतका यामलाल कँडेलले पनि मुख्यमन्त्रीको दावी भने यथावत नै राखेका छन् । कांग्रेसबाट प्रदेश ६ को मुख्यमन्त्रीको दावीसहित पूर्वमन्त्री जीवनबहादुर शाही चुनावी मैदानमा थिए ।
तर, प्रदेश ६ मा कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचनमा शाही एकमात्र निर्वाचित जनप्रतिनिधि बनेका छन् । अंकगणितले शाहीलाई मुख्यमन्त्रीको आकांक्षामा साथ दिएन । प्रदेश ७ मा भने मुख्यमन्त्रीको चर्चा धेरैको छ । बाजुराबाट संविधानसभा सदस्य भइसकेका कर्णबहादुर थापादेखि कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङ, कैलालीका पार्टी अध्यक्ष समेत रहेका दीर्घ सोडारी र बाजुराका प्रकाश शाह प्रत्याशी छन् । सवै प्रदेशको प्रत्यक्षमा विजयी भएका छन् । कर्णबहादुर थापा भने समानुपातिक उम्मेदवार छन् । माओवादीले मुख्यमन्त्री पाएको अवस्थामा कैलाली ३ को प्रदेशसभामा निर्वाचित बीरमान चौधरीको चर्चा छ ।

प्रकाशित मिति : २ पुष २०७४, आइतवार ०५:००