बाँकेको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले सिँचाइ सुविधा पुर्याएको क्षेत्रका उपभोक्ता किसानको लगत सङ्कलन कार्य भइरहेको जनाएको छ ।
आयोजनाको मूल नहर एवं शाखा र प्रशाखा नहरबाट सिँचाइ सुविधा प्राप्त गर्ने किसानलाई जल उपभोक्ता सदस्यता प्रदान गर्ने उद्देश्यले उनीहरूको विवरण सङ्कलन कार्य भइरहेको सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले बताए ।
उनले जल उपभोक्ता किसानको लगत सङ्कलनका लागि स्थानीय जनप्रतिनिधि तथा किसानसँग छलफल गरेर पूर्वी र पश्चिम दुवै मूल नहरअन्तर्गतका शाखा, उपशाखा र प्रशाखा वरिपरिका उपभोक्ताको विवरण सङ्कलन गरिरहेको बताए ।
‘सिँचाइ सेवा लिनका लागि जल उपभोक्ता सदस्य अनिवार्य गरिएको छ । यही सदस्यताका आधारमा उपशाखा, शाखा र मूल नहर सञ्चालन समिति चयन हुनेछ,’ निर्देशक आचार्यले भने, ‘लगत सङ्कलनकै आधारमा आयोजनाले सिँचाइ विस्तार र आवश्यक पूर्वाधारको काम गर्नेछ ।’
हालसम्म पश्चिम मूल नहरअन्तर्गत पेडारी, अकलघरुवा र पर्सेनीपुर शाखा तथा पूर्वी मूल नहरअन्तर्गत राजकुलो, फत्तेपुर शाखा, उपशाखा र प्रशाखाबाट सिँचाइ सुविधा लिइरहेका किसानको लगत सङ्कलन गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाले किसानको घरदैलोमा लगत सङ्कलनकर्ता पुग्दा सही विवरण उपलब्ध गराउन आग्रह गरेको छ । किसानको विवरण आयोजनासँग भएपछि आवश्यक पानीको परिमाण पहिचान गरी सोहीअनुसार नहरमा पानी वितरण गर्न सहज हुने निर्देशक आचार्यको भनाइ छ ।
पूर्वी मूल नहर उपभोक्ता तदर्थ समितिका अध्यक्ष लालबहादुर बस्नेतले आयोजनाको आगामी योजना निर्माणमा सहज होस् भन्ने उद्देश्यले उपभोक्ता किसानको लगत सङ्कलन भइरहेको बताए । उनका अनुसार पूर्वी नहरतर्फ किसानको लगत सङ्कलन कार्य करिब अन्तिम चरणमा पुगेको छ ।
आयोजना निर्देशक आचार्यका अनुसार सिक्टा सिँचाइ आयोजनाको हालसम्म ५१ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वाधार निर्माणतर्फ हालसम्म करिब २४ अर्ब रुपैयाँ खर्च भइसकेको छ । मर्मतसम्भारको काम नियमित रूपमा सञ्चालन भइरहे पनि निर्माणको बाँकी काम पाँच वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको उनले बताए ।
आर्थिक वर्ष २०६२/०६३ मा सुरु भएको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–८, अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।
नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको आयोजनाबाट पश्चिम मूल नहरमार्फत ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरमार्फत करिब नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । हालसम्म करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले जानकारी दिए ।
