२०८३ मंसिर १३ , आइतबार 29, November 2026, Sunday

गिट्टी कुटेर बिताएको झुप्रा खोलामा सस्मितलाई पुगिन् सीता

बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी आफ्नै जन्मभूमि झुप्रा खोलामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई लिएर पुगेकी छन् ।

शनिबार बेलुका आफ्नो बाल्यकालका पीडा, अभाव र सङ्घर्षसँग जोडिएको बस्तीमा पुगेर मन्त्री बादीले स्थानीय समुदायले भोगिरहेका समस्या र आवश्यकताबारे शिक्षामन्त्रीलाई प्रत्यक्ष जानकारी गराएकी हुन् । कुनै समय जीवन गुजार्न बालुवा–गिट्टी कुटेको त्यही ठाउँमा मन्त्रीका रूपमा फर्किएकी बादीले स्थानीयसँग भेटघाट गर्दै उनीहरूका समस्या र अपेक्षा सुनिन् ।

उनले यो भ्रमण जन्मभूमि पुग्ने औपचारिक कार्यक्रम मात्र नभई आफूले भोगेका सङ्घर्ष र स्थानीयले अहिले पनि भोगिरहेका कठिनाइ राज्यका जिम्मेवार निकायसमक्ष पुर्‍याउने अवसर भएको बताइन् । छलफलका क्रममा विद्युत्, खानेपानी, शिक्षा, रोजगारी, बस्ती व्यवस्थापन र आधारभूत पूर्वाधारका समस्या प्रमुखताका साथ उठेका थिए ।

खोलाको किनारमा जोखिमपूर्ण अवस्थामा रहेको बस्तीका नागरिकले वर्षौंदेखि आधारभूत सेवाको अभाव र आर्थिक कठिनाइ भोग्दै आएको बताएका थिए । पुस्तौँदेखि जीविकोपार्जनको आधार बनेको बालुवा–गिट्टी कुट्ने पेसा बन्द भएपछि धेरै परिवारको आम्दानीको मुख्य स्रोत गुमेको र वैकल्पिक रोजगारी नहुँदा दैनिक जीवनयापनसमेत कठिन बनेको स्थानीयले सुनाएका थिए ।

भेटघाटमा बादी समुदायका बालबालिकाको शिक्षामा पहुँचको विषयले विशेष प्राथमिकता पाएको थियो। जन्मदर्ता नहुँदा १५ जना बालबालिका शिक्षाको अवसरबाट प्रभावित भइरहेको विषयमा मन्त्री बादीले शिक्षामन्त्री पोखरेलको ध्यानाकर्षण गराइन् । त्यसप्रति चासो व्यक्त गर्दै शिक्षामन्त्री पोखरेलले ती बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न आवश्यक सहजीकरण र पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यसैगरी, स्थानीय महिलाको आर्थिक अवस्था सुधार र आत्मनिर्भरताका लागि सीप विकास तथा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने विषय पनि उठेको थियो । मन्त्री बादीले झुप्रा खोलाका महिलालाई लक्षित गरी छिट्टै सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइन् । तालिमलाई व्यावहारिक सीप, स्वरोजगार र दिगो आयआर्जनसँग जोडेर महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उनको भनाइ थियो ।

आफ्नै विगत र जन्मभूमिको अवस्थालाई स्मरण गर्दै मन्त्री बादीले सत्ता र जिम्मेवारीको वास्तविक अर्थ जनताको जीवनसँग जोडिँदा मात्र सार्थक हुने बताइन् । आफ्नो विगत कहिल्यै नबिर्सी त्यही सङ्घर्षबाट सिकेको अनुभवलाई सामाजिक परिवर्तनको शक्तिमा बदल्ने उनको प्रतिबद्धता थियो। झुप्रा खोलाका हरेक बालबालिकाले शिक्षा पाउने, महिलाले आत्मनिर्भर बन्ने अवसर प्राप्त गर्ने र प्रत्येक परिवारले सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् ।

शिक्षा, रोजगारी, आधारभूत पूर्वाधार र जीविकोपार्जनसँग जोडिएका स्थानीयका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र आवश्यक पहल गर्ने मन्त्री बादीले बताइन् । बाल्यकालमा अभाव र सङ्घर्ष भोगेको बस्तीमा फर्केर स्थानीयका समस्या समाधानका लागि दुई मन्त्रीबीच प्रत्यक्ष छलफल र समन्वय गराउने उनको यो पहल जन्मभूमिप्रतिको जिम्मेवारीसँग जोडिएको छ । भ्रमणमा प्रधानमन्त्रीका मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र प्रतिनिधिसभा सदस्य तारा विश्वकर्माको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८३ मंसिर १३ गते आइतबार