दसैँतिहारलाई लक्ष्य गरी दाङको घोराहीमा सञ्चालन गरिएको सुपथ मूल्य पसलमा उपभोक्ताको चहलपहल बढेको छ । चाडपर्वका बेला चिनी र नुनको माग बढेसँगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको दाङ शाखाले सञ्चालन गरेको पसलबाट २० दिनमा २७ लाख रुपैयाँभन्दा बढीको चिनी र नुन बिक्री भएको छ ।
घोराही उपमहानगरपालिका–१५ मा असोज १ देखि सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट चार हजार ८०८ जना उपभोक्ताले चिनी र नुन खरिद गरेका छन् । उक्त अवधिमा २७ लाख ५५ हजार २२० रुपैयाँ बराबरका सामग्री बिक्री भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दाङ शाखाले जनाएको छ ।
शखा प्रमुख रामबाबुप्रसाद गुप्ताका अनुसार २३ लाख ७७ हजार १०० रुपैयाँ बराबरको २३ हजार ७७१ किलो चिनी बिक्री भएको छ भने तीन लाख ७८ हजार १२० रुपैयाँ बराबरको १५ हजार ७५५ किलो नुन बिक्री भएको छ । पसलमा दैनिक छदेखि सात सयसम्म उपभोक्ता चिनी र नुन खरिद गर्न आउने गरेका छन् ।
चाडपर्वका बेला चिनीको माग उच्च रहेकाले पसलमा उपभोक्ताको लाइन लाग्ने गरेको शाखा प्रमुख गुप्ताले बताए । उनले भने, ‘सुपथ मूल्य पसल सञ्चालन भएपछि चिनी खरिद गर्न दैनिक जसो उपभोक्ताको लाइन लाग्ने गरेको छ । उपभोक्ताको सहजताका लागि चिनीका साथै नुन पनि बिक्री गर्दै आएका छौँ ।’
सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो १०० रुपैयाँ र नुन प्रतिकिलो २४ रुपैयाँमा बिक्री भइरहेको छ । दुवै वस्तुमा बजार मूल्यको तुलनामा प्रतिकिलो पाँच रुपैयाँ छुटको व्यवस्था गरिएको शाखाले जनाएको छ । एक जना उपभोक्ताले बढीमा पाँच किलो चिनी र छ किलो आयोडिनयुक्त नुन खरिद गर्न पाउने व्यवस्था छ ।
कात्तिक १ गतेसम्म सञ्चालन हुने पसलमा सार्वजनिक बिदाबाहेक अन्य दिन कार्यालय समय अनुसार चिनी र नुन बिक्री गरिँदै आएको छ । चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढ्ने भएकाले सुपथ मूल्य पसलबाट उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
यद्यपि उपभोक्ताले चिनी र नुनमा मात्र सीमित नराखी अन्य अत्यावश्यक खाद्यवस्तुमा समेत छुट उपलब्ध गराउन माग गरेका छन् । चामल, दाल, खानेतेल, पिठो जस्ता दैनिक उपभोगका सामग्री पनि सुपथ मूल्यमा उपलब्ध भए चाडपर्वको खर्च व्यवस्थापन गर्न सहज हुने उनीहरूको भनाइ छ ।
घोराही उपमहानगरपालिका–१५, काठेकोहलकी सीता रावतले चाडपर्वका बेला चिनी र नुनसँगै अन्य खाद्यवस्तुमा पनि छुटको व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘चिनी र नुनमा जस्तै तेल, पिठो, चामल लगायतका आवश्यक सामग्रीमा पनि छुट दिन सके उपभोक्तालाई ठुलो राहत मिल्ने थियो ।’

