२०८३ असोज २६ , सोमबार 12, October 2026, Monday

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र डिला निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार उपसभापति खुलातर्फ डा.चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन् ।

भण्डारीले तीन हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्दा आचार्यले दुई हजार ३४२ मत प्राप्त गरेर दोस्रो स्थान लिएका हुन् । यस्तै, अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले ९२३ र प्रा डा चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।

यस्तै, उपसभापति समावेशीतर्फको एक पदमा बिनोदकुमार चौधरी निर्वाचित भएका छन् । चौधरीले एक हजार ७४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारहरु फरमुल्लाह मंसुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे ।

यता, महामन्त्री खुलातर्फ दुई पदका लागि भएको मतदानमा प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन् । महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन् । पौडेलले चार हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्दा राणाले दुई हजार ३३० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहँदै महामन्त्री पदमा विजयी भएका हुन् ।

महामन्त्री पदका अन्य उम्मेदवारहरुमध्ये डा.सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले एक हजार १२५, शंकर तिवारीले १२३ र डा.सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् । महिला महामन्त्रीमा विजयी संग्रौलाले तीन हजार ११८ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना)ले दुई हजार ८६४ मत प्राप्त गरेकी छन् भने रीता खनालले ८०४ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार