नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउँदैछ । राष्ट्र बैंकका अनुसार साविककै आकार र रङमा ल्याउन लागिएको नयाँ नोटमा गभर्नर प्रा.डा.विश्वनाथ पौडेलको दस्तखत रहनेछ ।
नयाँ नोटको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० तुरुन्त पाइने छ’ भन्ने वाक्यांश उल्लेख छ ।
नोटको अग्रभागमा सगरमाथाको चित्र र लालीगुराँसको पानी छाप राखिएको छ । पानी छापमा ५० रुपैयाँको अङ्कसमेत रहनेछ । नोटको पृष्ठभागमा भने हिउँ चितुवाको चित्र राखिएको छ ।
त्यसैगरी नोटमा १.२ मिलिमिटर चौडा सुरक्षण धागो राखिएको छ । प्रकाशतर्फ हेर्दा पूर्ण रूपमा देखिने उक्त धागोमा ‘एनआरबी’ लेखिएको राष्ट्र बैंकले जनाएको छ ।
नयाँ नोटको सिरिजमा नेपालीतर्फ ‘वि.सं. २०८२’ र अंग्रेजीतर्फ ‘२०२५ एडी’ उल्लेख गरिएको छ । नयाँ नोटको सङ्केत नम्बर २४ ०००००१ देखि ७० ९९९९९९ सम्म रहनेछ ।

