२०८३ भदौ २२ , सोमबार 7, September 2026, Monday

कोहलपुर गोल्डकप ‘घाटामा छ’ भनियो, तर लिने-दिनेको नामै गायब !

बाँकेको कोहलपुरमा सम्पन्न चौथो कोहलपुर गोल्डकप–२०८३ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । तर, आयोजकले सार्वजनिक गरेको विवरणमा बाँकी रकम लिने र दिने नाम समेत उल्लेख नगरेपछि पारदर्शितामाथि प्रश्न उठेको छ ।

शनिबार कोहलपुरको खुला मैदानमा आयोजक रेसिङ साहारा क्लबले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रतियोगिताबाट भएको आम्दानी र खर्चको समग्र विवरण प्रस्तुत गरिएपनि बाँकी रकम लिने र दिनेको नाम भने सार्वजनिक गरिएको छैन ।

आय–व्यय विवरण पस्तुत गर्दै प्रतियोगिता संयोजक कर्ण बहादुर बस्नेतले कुल आम्दानी तर्फ ४४ लाख ८६ हजार ३७५ रुपैया भएकोमा खर्च ५४ लाख ७६ हजार रुपैँया भएको र हाल नौ लाख ९९ हजार ६२५ रुपैया घाँटामा रहेको विवरण सार्वजनिक गरेका थिए ।

आम्दानीका १९ वटा मात्र स्रोत देखाएका छन्, जसमा कोहलपुर नगरपालिका २२ लाख, नेपालगन्ज ११ स्पोर्टिङ क्लब आठ लाख, लुम्बिनी खेलकुद परिषद तीन लाख ९४ हजार, एक्सट्रीम इनर्जी ड्रिंक तीन लाख ८३ हजार ५००, नेपालगन्ज उपमहानगरपालिका एक लाख ९९ हजार प्राप्त भएको जनाइएको छ ।

त्यसैगरी जानकी गाउँपालिका ९८ हजार ५००, डुडुवा गाउँपालिका ७३ हजार ८७५ रुपैया, राप्तीसोनारी गाउँपालिका ८० हजार, एनसेल ४२ हजार ५००, न्यूरो हस्पिटल ५० हजार, एन.जी.एम.सी ५० हजार, साँझा सहकारी कोहलपुर १५ हजार, लुम्बिनी सुन चाँदी पसल १० हजार प्राप्त भएको जनाइएको छ ।

त्यस्तै तक्षशिला स्कुल १० हजार, केआईसी ३५ हजार, डिभिएस पाँच हजार, धुव्र आचार्य १० हजार, श्रेष्ठ टेलर १० हजार, एक्सर्पट १० हजार रुपैया गरी ४४ लाख ७६ हजार ३७५ रुपैया आम्दानी देखाएका छन् । यसमा अब आउन बाँकी रकम उल्लेख भने छैन । यस्तै खर्चतर्फ १२ वटा शिर्षकमा देखाएका छन् ।

सबैभन्दा बढि रेफ्री, अफिसियल तथा खेलाडी भत्तामा १४ लाख ५० हजार, पुरस्कार राशि १३ लाख ४६ हजार, खाना तथा आवास सात लाख, यातायात तथा इन्धन सात लाख ६० हजार र फ्लेक्स तथा ब्यानर तीन लाख खर्च भएको देखाएका छन् । खर्चको विवरणमा भने अब कहाँ कहाँ तिर्न बाँकी छ भन्ने उल्लेख छैन ।

पत्रकार सम्मेलनमा समेत बाँकी लिने र दिनेको विवरण मागेको अवस्था थियो, तर स्पष्ट रुपमा भने आएन । जसमा खर्चको विवरण यस्तो छ, मैदान मर्मत तथा व्यवस्थापन एक लाख ७० हजार, मिडिया तथा मार्केटिङ दुई लाख ६० हजार, फ्लेक्स तथा ब्यानर तीन लाख, मञ्च, टेन्ट तथा साउण्ड सिस्टम एक लाख ९० हजार, पुरस्कार राशि १३ लाख ४६ हजार रुपैयाँ खर्च देखाइएको छ ।

त्यस्तै प्रमाणपत्र, मेडल तथा ट्रफी एक लाख ५० हजार, यातायात तथा इन्धन सात लाख ६० हजार, खाना तथा आवास सात लाख, रेफ्री, अफिसियल तथा खेलाडी भत्ता १४ लाख ५० हजार, उद्घाटन समारोह खर्च ५० हजार, समापन समारोह खर्च ५० हजार र विविध खर्च ५० हजार गरी कुल जम्मा ५४ लाख ७६ हजार रुपैयाँ खर्च देखाएका थिए ।

स्रोत र खर्चको वास्तविक लाभग्राही पहिचान हुने गरी विवरण उल्लेख नभएपछि पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीहरूले समेत प्रश्न उठाएका थिए । प्रतियोगिता सम्पन्न गर्न ठूलो रकम खर्च भएको बताइए पनि खर्चको बिल–भरपाई, बाँकी भुक्तानी पाउने व्यक्ति तथा संस्थाको नाम विवरण सार्वजनिक नगर्दा आय–व्यय सार्वजनिक गर्नु औपचारिकतामै सीमित भएको आरोपसमेत लाग्न थालेको छ ।

रेसिङ्ग साहारा क्लबका अध्यक्ष र कोहलपुर नगरपालिकाका खेलकुद संयोजक चक्र चिमाला क्षेत्रीले प्रतियोगिताको आर्थिक पार्दशिकता र जवादेहितामा पूर्ण कटिबद्ध रुपमा लागेको बताए । ‘कोहलपुर गोल्डकप असफल बनाउने केही तत्व लागिरहेको छन्,’ उनले भने, ‘वैदेशिक टिमलाई रोक्न लागे ।’

उनले पत्रकारको प्रश्नको उत्तरमा नेपाल आर्मीलाई दुई लाख र कृष्ण होटललाई दुई लाख रुपैया तिर्न बाँकी रहेको स्वीकारे । तर उनले सार्वजनिक गरेको आयव्ययमा भने उल्लेख छैन, तर उनले उल्टै आफु फुटबल संघ बाँकेको अध्यक्ष बनिहाल्छ की भनेर गिराउने तत्वहरु लागेको उनको भनाई थियो ।

क्लबका अध्यक्ष चक्र चिमालाले व्वाईज यूनाईटेड क्लबको बाँकी नभएको दावी गरेका छन् तर व्वाईज क्लबका अध्यक्ष निरज रावतले क्लबको नाममा पैसा हालसम्म नदिएको बताएका छन् । सो आयव्यस सार्वजनिक कार्यक्रममा गोल्डकप प्रतियोगिताको आर्थिक संयोजक समेत उपस्थित थिएनन् ।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार