२०८३ भदौ २१ , आइतबार 6, September 2026, Sunday

चम्कियो निर्यात : फलाम र स्टिलको निकासीमा ४७२ प्रतिशतको छलाङ

चालु आर्थिक वर्ष २०८३-०८४ को पहिलो महिना अर्थात् साउनमा नेपालबाट निर्यात हुने प्रमुख २० वस्तुकै निकासी बढेको छ । गत आर्थिक वर्ष २०८२-०८३ को साउन महिनाको तु्लनामा चालू आवको साउन महिनामा मूल्यका आधारमा निर्यात वस्तुको निकासी बढेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार सबैभन्दा ठूलो वृद्धि फलाम, स्टिल तथा तिनका उत्पादनको निर्यातमा देखिएको छ । गत वर्षको साउनमा ३५ करोड ५९ लाख रुपैयाँबराबरको फलाम, स्टिल तथा तिनका उत्पादन निर्यात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २ अर्ब ३ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यो ४७२.५९ प्रतिशतको वृद्धि हो ।

यस्तै, कुकुर तथा बिरालोको खाना (छुर्पी)को निर्यात १८८.०२ प्रतिशतले बढेको छ । गत वर्षको साउनमा १८ करोड ४४ लाख रुपैयाँको यस्तो वस्तु निर्यात भएकामा चालु आर्थिक वर्षको साउनमा ५३ करोड १२ लाख रुपैयाँ पुगेको छ ।पाम आयलको निर्यात १३०.४७ प्रतिशत, प्लाइउडको १२३.२४ प्रतिशत र अलैंचीको १०९.८५ प्रतिशतले बढेको छ ।

जुट तथा जुटका उत्पादनको निर्यात ९६.८८ प्रतिशत, आल्मुनियम तथा त्यसका उत्पादनको ९३.७१ प्रतिशत र सूर्यमुखी तेलको ८५.८५ प्रतिशतले बढेको विभागको तथ्यांक छ । परिमाणमा भने सबै वस्तुको वृद्धि समान छैन । ऊनी गलैंचाको निर्यात मूल्य ३.४६ प्रतिशतले बढेर ८४ करोड ८९ लाख रुपैयाँ पुगे पनि यसको निर्यात परिमाण भने गत वर्षको साउनको २६ हजार ९४९ वर्गमिटरबाट घटेर २५ हजार २५ वर्गमिटरमा झरेको छ ।

मूल्य बढेकाले कुल निर्यात मूल्यमा भने वृद्धि देखिएको हो । प्रमुख २० वस्तुको सूचीमा सबैभन्दा ठूलो हिस्सा सोयाबिन तेलको छ । चालु आर्थिक वर्षको साउनमा १७ अर्ब ९९ करोड ३५ लाख रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ । यो साउनको कुल वस्तु निर्यातको ४६.४९ प्रतिशत हो ।

त्यसपछि फलाम, स्टिल तथा तिनका उत्पादनको हिस्सा ५.२७ प्रतिशत, यार्नको ४.३७ प्रतिशत, पाम आयलको ४.२५ प्रतिशत र जुट तथा जुटका उत्पादनको ३.१७ प्रतिशत रहेको छ । वैदेशिक व्यापार विज्ञ रबिशंकर सैंजुका अनुसार प्रमुख निर्यात वस्तुको वृद्धिले नयाँ आर्थिक वर्षको सुरुवातमा नेपालको बाह्य व्यापारमा निर्याततर्फ सकारात्मक संकेत देखाएको छ ।

अबको चुनौती भने यस्तो वृद्धि केही सीमित वस्तुमा निर्भर नराखी उत्पादनमूलक र उच्च मूल्य अभिवृद्धि हुने वस्तुको निर्यात विस्तार गर्नु हुनेछ । साउनमा प्रमुख २० वस्तुबाट मात्रै करिब ३३ अर्ब ९५ करोड रुपैयाँ बराबरको निर्यात भएको देखिन्छ । यसले कुल ३८ अर्ब ७० करोड रुपैयाँको साउनको निर्यातमध्ये करिब ८८ प्रतिशत हिस्सा प्रमुख २० वस्तुमै केन्द्रित रहेको देखाउँछ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनमा २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकामा चालु आर्थिक वर्षको साउनमा निर्यात ६१.७४ प्रतिशतले बढेको हो । तर, निर्यात वृद्धिको संरचनामा भने केही प्रश्नसमेत देखिएका छन् । वनस्पति तेलको निर्यातले ठूलो हिस्सा ओगटेको छ भने धेरै वस्तुको निर्यात अझै तुलनात्मक रूपमा सानो छ । साउनमा सोयाबिन, पाम र सूर्यमुखी तेलको निर्यातले मात्रै ठूलो योगदान गरेको देखिन्छ । कतिपय विज्ञहरुले भने वनस्पति तेलको निर्यातलाई अस्वाभाविक मानेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार