रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिमा निर्जीवन बीमा कम्पनीहरूमा २५ अर्ब ८७ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म १५ वटा कम्पनीमा ५८३ वटा दाबी दर्ता भएका छन् ।
बाढीबाट जलविद्युत् आयोजना, पूर्वाधार, घर, निजी सम्पत्ति तथा सवारीसाधनमा ठूलो क्षति भएपछि दाबी रकम उच्च भएको हो । सबैभन्दा ठूलो दाबी दि ओरिएन्टल इन्स्योरेन्समा १३ अर्ब ४ करोड रुपैयाँभन्दा बढी परेको छ ।
दाबी भुक्तानीलाई सहज र छिटो बनाउन अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । उनले विपद्को कठिन अवस्थामा पीडितले राहत महसुस गर्ने गरी दाबी भुक्तानी गर्न आग्रह गर्दै आवश्यक परे सरकारले सहयोग गर्ने बताए ।
प्राधिकरणका अनुसार कुल दाबीमध्ये इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा मात्रै २० अर्ब ५० करोड रुपैयाँ रहेको छ । सम्पत्ति बीमामा २ अर्ब ३४ करोड, मोटर बीमामा १ अर्ब ५५ करोड र परिवहन बीमामा ८९ करोड रुपैयाँको दाबी परेको छ ।
बैठकले साना दाबी छिटो भुक्तानी गर्ने, ठूला क्षतिमा तत्काल उचित रकम पेस्की दिने तथा सर्भेयर परिचालनलाई स्वचालित र पारदर्शी बनाउने निर्णय गरेको छ । दाबी भुक्तानीको दैनिक अनुगमन तथा सहजीकरणका लागि नेपाल बीमा प्राधिकरणमा विशेष कार्यदल गठन गरिने भएको छ ।

