२०८३ भदौ ९ , मंगलबार 25, August 2026, Tuesday

पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र

पश्चिम नेपालको पर्यटकीय ट्रान्जिट मानिने बाँकेका पर्यटन व्यवसायीले पर्यटन प्रवर्द्धनका लागि सातबुँदे घोषणापत्र जारी गरेका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले आफ्नो सातौँ स्थापना दिवसका अवसरमा घोषणापत्र जारी गर्दै यसको कार्यान्वयनबाट पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने जनाएको छ ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले जिल्लाका सम्पूर्ण पर्यटन व्यवसायीको सुझाव र सल्लाहका आधारमा तयार पारिएको घोषणापत्र कार्यान्वयन गर्न सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने बताए । उनका अनुसार घोषणापत्रमा नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुर लगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर नियमित तथा प्रभावकारी उडान सञ्चालन गर्न आग्रह गरिएको छ ।

त्यसैगरी ऐतिहासिक बागेश्वरी मन्दिर, बाबा बर्फानी, सन्तानेश्वर, गोवर्धन धाम, भुवर भवानीलगायत गन्तव्यलाई एउटै पर्यटन प्याकेजमा आबद्ध गर्दै कैलाश मानसरोवर, लुम्बिनी, रारा तथा अन्य प्रमुख धार्मिक एवं आध्यात्मिक गन्तव्यसँग नेपालगन्जलाई जोड्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा भारतीय पर्यटकलाई लक्षित गर्दै रुपैडिहा नाकासम्म सहज आवागमन, पर्यटकमैत्री सीमा व्यवस्थापन, ग्रिन लाइन तथा स्मार्ट बोर्डर अवधारणाका लागि सम्बन्धित निकायसँग सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको अपार सम्भावना बोकेको बाँके–बर्दियालाई लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिमका प्रमुख गन्तव्यसँग जोड्न घोषणापत्रमा जोड दिइएको छ ।

साथै पर्यटनलाई स्थानीय अर्थतन्त्र, रोजगारी र समृद्धिको आधार बनाउनुपर्ने आवश्यकतामा पनि घोषणापत्रले जोड दिएको छ । विशेषगरी नेपाल–भारत सीमाबाट भित्रिने भारतीय तथा अन्य पर्यटकलाई लक्षित गरी सीमा क्षेत्र पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरिने जानकारी दिँदै सहज सूचना, पहुँच, सेवा र पर्यटनमैत्री वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग सहकार्य गरिने अध्यक्ष रेग्मीले बताए ।

पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले सातबुँदे घोषणापत्रमा समेटिएका विषय कार्यान्वयन गर्न सके पश्चिम नेपालको पर्यटन व्यवसायमा क्रान्तिकारी परिवर्तन आउने बताए । उनले नेपालगन्ज विमानस्थल र नेपाल–भारत सीमा नाका जमुनाहालाई पश्चिम नेपालको प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न सम्बन्धित सरकारी निकाय, विमान सेवा प्रदायक तथा निजी क्षेत्रसँग निरन्तर समन्वय आवश्यक रहेको बताए ।

भारतीय पर्यटकलाई आकर्षित गर्न नयाँ पर्यटन प्याकेज निर्माण, डिजिटल प्रचार–प्रसार, पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि तथा सरकारी, निजी र समुदायबीचको सहकार्यलाई प्राथमिकतामा राख्दै सातबुँदे घोषणापत्र जारी गरिएको नाट्टा बाँके च्याप्टरले जनाएको छ । च्याप्टरका अनुसार पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन डिजिटल माध्यमको प्रभावकारी उपयोग गरिनेछ । सामाजिक सञ्जाल, डिजिटल सामग्री, दृश्य सामग्री तथा आधुनिक प्रचार प्रणालीमार्फत पर्यटन गन्तव्यको ब्रान्डिङ र बजार विस्तार गरिनेछ ।

प्रकाशित मिति : २०८३ भदौ ९ गते मंगलबार