२०८३ साउन ३१ , आइतबार 16, August 2026, Sunday

भन्सार कडाइले सार्थकता पाएकोमा नेपालगन्जका व्यवसायी खुसी

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ साउन ३१ गते आइतबार

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले अहिलेको सरकार स्पष्ट जनादेश सहित आएको भएको बताएका छन् । शनिबार नेपालगन्ज उद्योग वाणिज्य महासङ्घको ३४ र ३५औँ वार्षिक साधारण सभामा उनले पाँच वर्षका लागि जनताले म्यान्डेट दिएको सरकार भएको उल्लेख गर्दै सरकारले सय दिनमै सबै कुरा गरिसक्नुपर्छ भन्ने नभएको र सबै कुरा गर्न सम्भव नहुने बताए ।

उपाध्यक्ष वैद्यले अघिल्ला सरकारले गरेका नीतिको कमजोरी सच्याउन आग्रह गर्दै भन्सार कडाइले सार्थकता पाएकामा खुसी व्यक्त गरे । राज्यले अहिले भन्सारमा कडाइ गरेको छ, त्यसले गर्दा व्यापक रूपमा हाम्रो व्यवसाय सञ्चालन गर्न सहज भएको उपाध्यक्ष वैद्यले बताए । विगतमा खुला सीमाका कारण देशका नाकामा रु तीन–चार करोड बराबरको राजस्व चुहावट हुने गरेको समेत उनले उल्लेख गरे ।

अहिलेको अवस्थामा पुरानै नीति र नियम लागू भइरहे व्यवसायीलाई व्यवसाय गर्न सधैँ कठिन हुने उपाध्यक्ष वैद्यको भनाइ छ । उनले पुरानै कानुन अनुसार व्यवसायीमाथि डन्डा चलाउने काम भएको उल्लेख गर्दै राज्यको भनाइ र गराइ फरक हुँदा विश्वासको वातावरण बन्न नसकेको उल्लेख गरे । सरकारले एकातिर आर्थिक क्षेत्रलाई ढुक्क हुन भने पनि अर्कातर्फ व्यवसायीमाथि धरपकड भइरहेको भन्दै पछिल्लो समय सरकारले २६८ व्यवसायीलाई पक्राउ गरेको बताए ।

भन्सारदेखि लिएर सबै क्षेत्रमा राज्यले स्पष्ट नीति बनाउन बाँकी रहेको उल्लेख गर्दै उपाध्यक्ष वैद्यले राज्यले नीति–नियम परिवर्तन नगरेर पुरानै नीतिमा टेकेर कानुन कार्यान्वयन गर्दा व्यापारी पलायन हुने अवस्था सृजना भएको बताए । उनले अहिले लगभग ६० हजार व्यवसायी कालोसूचीमा परेको भन्दै उधारो कारोबार सम्बन्धी कानुन ल्याउन माग गरे । करिब रु १५–१६ खर्ब बैङ्कमा थुप्रिएको छ, सरकारले पैसा चलाऊ भनिरहेको छ, लगानी गर्नुहोस् भनिरहेको छ तर लगानीमा निराशा देखिएको उपाध्यक्ष बैद्यको भनाइ छ ।

महासङ्घका केन्द्रीय सदस्य पदमराज चौलागाईँले सधैँ सरकारलाई उद्योगी, व्यवसायीले आफ्ना समस्या राख्नेभन्दा अब सरकार नै व्यवसायीको घरदैलोमा आएर समस्या बुझ्नुपर्ने बताए । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीको अध्यक्षतामा नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेल, आन्तरिक राजस्व कार्यालयका कर अधिकृत उदयराज केसी, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्यले कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप भट्टराई, सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी लगायतले उद्योगी, व्यवसायीको समस्याबारे बोलेका थिए ।सो अवसरमा पर्यटन व्यवसायी श्रीराम सिग्देल लगायत चार जनालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतबार