२०८३ जेठ १९ , मंगलबार 2, June 2026, Tuesday

कर्णालीका युवालाई उद्यमी बनाउन ब्याजमा अनुदान

सत्यपाटीसत्यपाटी । सुर्खेत । २०८३ जेठ १९ गते मंगलबार

कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले युवा उद्यमशीलतामा आकर्षण बढाउन प्रदेश सरकारले ब्याजमा अनुदान दिने नीति ल्याएको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री अधिकारीले प्रदेश सरकारले उद्यमशीलताको प्रवद्र्धनका लागि युवालाई ब्याजमा अनुदान दिँदै आएको बताए ।

यसमा प्रदेश सरकारले एक करोडभन्दा बढी रकम विनियोजन गरेको उनको भनाइ छ । मन्त्री अधिकारीले भने, ‘युवा देशका मेरुदण्ड हुन् । युवालाई रोजगार दिएर स्वरोजगार बनाउन सकिए विदेश पलायन दर घटाउन सकिन्छ । यसका लागि तीन तहका सरकारबीच आवश्यक समन्वय, सहकार्य जरुरी पर्नुका साथै युवामा पनि आफैँले केही गर्छु भन्ने वातावरण तयार बनाउनुपर्छ ।’

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले अब युवा आफैँ उत्पादनमा कसरी जोडिने भन्ने अवस्था वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन् । उनका अनुसार नगरपालिकाले ४० वर्षमुनिका महिलालाई अटोचालक तालिम प्रदान गरेको छ । ‘युवालाई प्रविधिसँग जोडेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने बनाउनुपर्छ र युवा स्वयं पनि मेहनती र समर्पित भएर लाग्नुपर्छ,’ उनले भनिन् ।

राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले नेपाली नागरिकलाई स्वदेशमा बस्ने वातावरण बनाउने र स्वदेशी उत्पादनलाई प्रोत्साहन दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताए । युवालाई उद्यमशीलतातर्फ उत्प्रेरित गराउन परिषद्ले देशका सबै प्रदेशमा स्टार्टअप व्यवसायी प्रदेशनी कार्यक्रम गर्दै आएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार