२०८३ कात्तिक ७ , शुक्रबार 23, October 2026, Friday

भेरी अस्पतालमा बिग्रिएर थन्कियो ‘सिटी स्क्यान’, बिरामीको उपचारमा समस्या

पश्चिम नेपालको २४ जिल्लाका बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटी स्क्यान डेढ वर्षदेखि बिग्रिएर बिरामीलाई उपचारमा समस्या भएको छ ।

करिब १८ महिनादेखि सो अस्पतालको सिटी स्क्यान नचल्दा बाँके, बर्दिया लगायतका विभिन्न जिल्लाका दुर्घटनामा परेका तथा अन्य न्युरो सम्बन्धि बिरामीहरूलाई उपचारमा समस्या हुँदैआएको छ ।

सिटी स्क्यान बिग्रिएको यति धेरै समय बिते पनि मर्मत सम्भार वा नयाँ खरिद नगरिँदा विपन्न, गरिब र दुर्गम जिल्लाबाट आएका आर्थिक अवस्था कमजोर भएका बिरामीले उपचार पाउन समस्या भएको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.निराजन सुवेदीले सिटिस्क्यान मेसिनको ट्युब बिग्रिएको जनाउँदै त्यसलाई बनाउन पटक–पटक मन्त्रालयमा प्रयास गरिएपछि यसपटक बजेटमा एक करोड ३२ लाख रुपैयाँ छुट्याइएको बताए ।

उनले सो बजेटबाट सिटी स्क्यान मर्मत सम्भार सुरु गर्ने प्रक्रिया सुरु गर्नै लागेको बेला जेनजीको आन्दोलनले देशको अवस्था यस्तो भएपछि स्वास्थ्य मन्त्रालयले हालका लागि कुनै पनि उपकरण मर्मत सम्भार र खरिद नगर्न मौखिक आदेश दिएको बताए ।

पुरानो मेसिनमा एक करोडभन्दा बढी खर्च गर्नुभन्दा नयाँ मेसिन खरिद गरेर ल्याउनेतर्फ लागेकोमा सो प्रयास सफल नभएको मेडिकल सुपरिटेन्डेन्ट डा.सुवेदीले बताए । अस्पतालमा सिटी स्क्यान सेवा उपलब्ध नहुँदा कतिपय विपन्न र आर्थिक रूपमा कमजोर बिरामीले उपचारनै नपाएर फर्किने गरेको अवस्था छ ।

सिटी स्क्यान नहुँदा दुर्घटनामा परेर रातिको समयमा आउने बिरामीले सबैभन्दा बढी दुःख पाउने गरेको र उपचारमा समेत ढिलाई हुने गरेको अस्पतालले जनाएको छ । भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत रिसालले दुर्घटनामा परेर रातिको समयमा आउने बिरामीको तत्काल सिटी स्क्यान गर्नुपर्ने हुँदा महँगो अस्पतालमा पठाउनुको विकल्प नहुने गरेको बताए ।

उनले पैसा नहुने बिरामीले सिटी स्क्यान गराउन नसक्दा उपचारनै गराउन नसक्ने अवस्था समेत आउने गरेको बताए । सिटी स्क्यानले काम नगर्दा सस्तोमा उपचार सेवा पाउने आसमा भेरी अस्पताल आएका दूरदराजका बिरामीहरूले महँगो शुल्क तिरेर बाहिर नीजि स्वास्थ्य संस्थामा गई सिटी स्क्यान गराउन बाध्य छन् ।

भेरीमा रहेको सिटी स्क्यान मेसिन १३ वर्ष पुरानो रहेकोले गुणस्तरीय उपचारका लागि उक्त मेसिनको मर्मत सम्भारभन्दा पनि नयाँ मेसिन ल्याउनेतर्फ सबैले दबाब दिनुपर्ने अस्पताल विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार