२०८३ जेठ २४ , आइतबार 8, June 2026, Monday

सरकारद्वारा १० हजार कर्मचारी कटौती गर्ने निर्णय

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १ गते बुधबार

सरकारले १० हजार कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । नयाँ सरकार बनेसँगै खर्च कटौतीका लागि कर्मचारीको संख्या घटाउने निर्णय भएको हो ।

मंगलबार सिंहदरबारमा बसेको मुख्य सचिवसहित सचिवहरूको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर खर्च कटौती गर्ने र अत्यावश्यक बाहेकका कर्मचारीको संख्या घटाउने निर्णय गरेको हो ।

निजामती सेवाका सचिवहरूको उक्त बैठकले संघीय सरकार मातहत रहेको जम्मा दरबन्दीको २० प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । एक सचिवका अनुसार संख्यात्मक हिसाबले १० हजारभन्दा धेरै दरबन्दी कटौती हुनेछ ।

स्रोतका अनुसार कर्मचारीहरू मन्त्रालय, सचिवालय, आयोग तथा कार्यालयबाट कटौती सुरु गर्ने निर्णय गरेको र यसलाई असोजभित्रै स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिनेछ । कर्मचारीहरूले गरेको संशोधित दरबन्दी स्वीकृतिको निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ ।

सचिवहरूको बैठकले अनावश्यक देखिएका निकाय खारेज, गाभ्ने र हस्तान्तरणको काम पनि तत्कालै सुरु गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधबार