मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि आक्रामक र व्यक्तिगत टिप्पणी गर्दै गम्भीर आरोप लगाएका छन् । आफूलाई ‘बैंक ठग’ भनेकोमा प्रतिवाद गर्दै प्रसाईंले लिङ्देनलाई ‘भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान’को संज्ञा दिए ।
गत चैत १५ गतेको तीनकुने घटनापछि पहिलोपटक आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रसाईं आक्रोशित रूपमा प्रस्तुत भए । ‘राप्रपाका राजेन्द्र लिङ्देन दाइले ‘यो त बैंक ठग हो’ भन्थे’, प्रसाईंले भने, ‘उनलाई भन्दिनुस्, तिमीजस्तो भारतबाट गाडी चोरेर ल्याएर काटेर भात खाने म होइन ।’
आफूमाथि लगाइएको ‘बैंक ठग’ को आरोप खण्डन गर्दै उनले भने, ‘जुन हिसाबकिताबले मलाई बैंक ठग भन्या थियौ, यी पत्रिकाहरू र यी कागजहरूले देखाउँछ ।’ उनले कर्जा सूचना केन्द्रले आफूलाई ‘क्लिन चिट’ दिएको बताउँदै आफूमाथि कुनै बैंकिङ कसुर नलागेको दाबी गरे ।
उनले गत चैत १५ को आन्दोलनमा राप्रपाले आफूलाई धोका दिएको समेत आरोप लगाए । ‘मलाई १५ गते राप्रपाहरूले मिलेर छुरी हानेका छन् । म बाँच्न सफल भएको मान्छे हुँ,’ उनले भने, ‘१५ गते जुन धोका दियौ, अब जीवनमा तिमीले धोका दिन सक्दैनौ ।’

