राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले पार्टीको संस्थापक ईश्रा मुल्ला मिया हजलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
हज कमिटीको अध्यक्ष बनेपछि पार्टीबाट राजीनामा दिएका मियालाई पुनः केन्द्रीय समितिमा ल्याइएको हो । यस्तै, पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्याम बाबु गौतम, काठमाडौँलाई मनोनयन गर्ने र केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटा नवलपुरलाई मनोनयन गर्ने निर्णय भएको छ ।
यसरी नै श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठ, नवलपुरलाई मनोनयन गरेको छ । साथै, पार्टी सभापति रवि लामिछाने माथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान अन्तर्गत श्रावण २३ गतेसम्म ३२ लाख ६ हजार ६०८ र सहयोग रकम ६२ लाख १६ हजार ६६९ रकम पनि संकलन भएको प्रवक्ता झाले जानकारी दिए ।
उनका अनुसार यो आँकडा शुक्रवार (आज) सम्मको हो । रास्वपाले हस्ताक्षर अभियानका लागि स्वतस्स्फूर्त रूपमा सहयोग गर्नसमेत आह्वान गरेको थियो । उक्त आह्वानबापत् आजको मितिसम्म ६२ लाखभन्दा बढी रकम सङ्कलन भएको प्रवक्ता झाले जानकारी दिए । लामिछाने अहिले भैरहवा कारागारमा छन् ।
सहकारी ठगी प्रकरणमा मुछिएर थुनामा गएका लामिछानेका विरुद्ध राज्यले प्रतिशोध साँधेको रास्वपाको दाबी छ । त्यही प्रतिशोधको विरुद्धमा भन्दै रास्वपाले गत असार ७ गतेदेखि हस्ताक्षर सङ्कलन अभियान थालेको थियो । त्यसमा आजका मितिसम्म यो आँकडामा हस्ताक्षर सङ्कलन भएको हो । हस्ताक्षर अभियानमा विभिन्न पार्टीका नेता तथा कलाकारहरू पनि सहभागी भएका छन् ।

