मानव सभ्यताको इतिहास हेर्ने हो भने, सूचना प्रविधिको आविष्कार र प्रयोगभन्दा टाढा दास युग तथा ढुङ्गे युग देखिन्छ । ती कालखण्डमा ज्ञानको आदानप्रदान सीमित थियो र मानिसहरू अज्ञानताको कैदमा बाँधिएका थिए । बिज्ञान प्रविधिको विकाससँगै मानव सभ्यता प्रकाशमा आएको छ । आज हामी सूचना प्रविधिको क्रान्तिकारी युगमा छौं, जहाँ विज्ञान र प्रविधिको प्रयोगले समाजको प्रत्येक क्षेत्रमा गहिरो प्रभाव पारिरहेको छ । राजनीतिक सामाजिक आर्थिक सांस्कृतिक रुपान्तरण बिकासका शिक्षा स्वास्थ्य रोजगार एवं लगानी पूर्वाधारको सम्प्रेषण बिश्वसनियताको माध्यम सूचना प्रविधिको विकास नै हो ।
तर नेपाल जस्तो देशमा प्रविधिको विकास र प्रयोगको विषयलाई लिएर सरकारले नै विभिन्न समयमा विवादास्पद कार्यक्रमहरु गरिरहेको छ । स्वतन्त्रता र समानताको जगमा भएका आन्दोलन क्रान्ति अभियानले सम्भवत सफलता हासिल गरेको छ । आधुनिक विकासका मानकभित्र प्रविधिको बिकास र प्रयोग अनिवार्यजस्तै भएको छ । नेपाल सरकारले पटक–पटक सामाजिक सञ्जाल नियमन गर्ने विधेयक ल्याउने प्रयास गरेको छ, जसले अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर रूपमा प्रभावित गर्न सक्छ । सूचना र प्रविधिको सहज पहुँचले जनतालाई सरकारको कामको मूल्याङ्कन गर्ने अधिकार दिएको छ, जसलाई नियन्त्रण गर्न खोज्नु लोकतन्त्रको मूल मर्म विपरीत छ ।
सत्ताधारीहरू आलोचनालाई दबाएर आफ्नो स्वार्थपूर्ति गर्न चाहन्छन्, तर डिजिटल युगमा यस्तो सोच दिवास्वप्न मात्र हुनेछ । नेपालमा पछिल्लो राजनीतिक परिवर्तनले सक्रिय राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको छ । राज्य ब्यबस्थाविरुद्ध क्रान्ति संघर्षमा होमिएका राजनितिक पार्टीहरुको नेतृत्वमा जब सरकार बन्छ, तबतब पटकपटक सरकार संचार तथा अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रणको प्रयास गर्ने प्रवृत्तिले समाजलाई पछि पार्न खोजेको देखिन्छ । अचम्मको कुरा जनताको बहुदलीय जनवाद, वैज्ञानिक जनवादको वकालत गर्नेहरूको सरकारले पटक–पटक सामाजिक सञ्जाल नियमन गर्ने विधेयक ल्याएर जनताको स्वतन्त्र अभिव्यक्तिलाई सीमित गर्ने प्रयास गरिरहेको छ ।
यसरी आलोचना र विरोधका आवाजलाई दबाउने प्रवृत्ति आफैंमा दिवास्वप्न मात्र हो । डिजिटल युगमा प्रविधिलाई नियन्त्रण गरेर सत्ताको दीर्घायु लम्ब्याउने सपना देख्नुको अर्थ लोकतन्त्रलाई कमजोर पार्नु हो । नेपाल विश्व मानचित्रमा दक्षिण एशियाको सबैभन्दा पुरानो देश भए पनि आधुनिक विकास र समृद्धिको मार्गमा बारम्बार असफलता भोग्दै आएको छ । यसको मुख्य कारण अस्थिर राजनीति, भ्रष्टाचार, गलत नीति निर्माण, प्रविधिको अस्वीकार र अदूरदर्शी नेतृत्व हो । जबकि प्रविधि आजको युगमा सबैभन्दा ठूलो शक्ति बनेको छ, नेपालका नीति निर्माताहरू यसको महत्त्व बुझ्न असमर्थ देखिन्छन् ।
देशको समृद्धि सूचना प्रविधि, नवप्रवर्तन, शिक्षा र वैज्ञानिक सोचमा निर्भर रहन्छ । युरोप, अमेरिका, चीन, भारत जस्ता देशहरू प्रविधिको माध्यमबाट नै समृद्ध भएका छन् । तर नेपालमा भने प्रविधिको नियमनको नाममा नियन्त्रण गर्ने प्रवृत्ति बढिरहेको छ । बिगत केहि बर्षदेखि सरकार राज्यसत्ता सूचना संचार अध्यादेशका नाममा अथवा सामाजिक संजाल नियमन नियन्त्रण बिधेयकका नाममा होस नागरिक अधिकारको नियन्त्रण र आलोचनाको निषेध गर्न खोजेको देखिन्छ । संघीय गणतन्त्र नेपालमा बिशेषगरि बामपंथी राजनीतिक दलको कम्युनिस्ट पार्टीको सरकारले सूचना प्रविधिलाई नियन्त्रित गर्न खोज्नुको मुख्य कारण भनेको सत्ताको आलोचना रोक्ने प्रयास हो ।
नेपाल सरकारले ल्याउन खोजेको सामाजिक सञ्जाल नियमन विधेयकले देशको स्वतन्त्र प्रेस, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रभाव पार्न सक्छ । सरकारले यो विधेयकमार्फत आलोचना रोक्ने प्रयास गरे पनि डिजिटल युगमा यस्तो सम्भव छैन ।
१. जनतामाथि अंकुश – प्रविधिलाई नियन्त्रण गर्ने सरकारले अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्दै नागरिकलाई डरको वातावरणमा राख्न खोज्छ ।
२. सूचना प्रवाहमा अवरोध – सामाजिक सञ्जाल नियमन गर्दा स्वतन्त्र सञ्चार माध्यम प्रभावित हुन्छन्, जसले सत्य तथ्य बाहिर आउन गाह्रो बनाउँछ ।
३. व्यावसायिक र प्रविधि क्षेत्रको अवरोध – प्रविधिको नियन्त्रणले स्टार्टअप, ई–कमर्स, सूचना प्रविधि उद्योग, फ्रीलान्सिङ, डिजिटल मार्केटिङ जस्ता नयाँ व्यवसायिक सम्भावनाहरू धराशायी हुन सक्छन् ।
४. वैश्विक प्रतिश्पर्धामा पछि पर्ने – प्रविधि नियन्त्रणले नेपाललाई डिजिटल दौडमा पछाडि पार्छ । जसले गर्दा लगानीकर्ताहरू अन्यत्र आकर्षित हुन्छन र नेपाल प्रविधिको प्रयोगमा सीमित रहन्छ ।
नेपाल समृद्ध बन्न सूचना प्रविधिको उपयोगलाई नियन्त्रण होइन, प्रवद्र्धन गर्नुपर्छ । प्रविधिले देशको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, व्यवसाय र पारदर्शिता वृद्धि गर्न मद्दत गर्छ । सरकारको ध्यान नागरिकको अभिव्यक्ति दबाउनेभन्दा प्रविधिलाई सही ढंगले उपयोग गर्ने योजनामा जानुपर्छ ।
१. सूचना प्रविधि शिक्षामा लगानी – नेपालमा प्रविधि शिक्षा कमजोर छ । डिजिटल नेपाल निर्माणका लागि प्रविधि शिक्षामा ठूलो लगानी आवश्यक छ ।
२. नवप्रवर्तन र स्टार्टअप प्रवद्र्धन – सरकारले स्टार्टअप, प्रविधि अनुसन्धान, कृत्रिम बुद्धिमत्ता (ब्क्ष्), ब्लकचेन, साइबर सुरक्षा जस्ता क्षेत्रमा लगानी बढाउनु पर्छ ।
३. डिजिटल पूर्वाधार विकास – इन्टरनेट पहुँच, डिजिटल बैंकिङ, स्मार्ट सिटी, प्रविधि–मैत्री नीतिहरू निर्माण गर्नुपर्छ ।
४. नीतिगत स्पष्टता र प्रोत्साहन – प्रविधि क्षेत्रका व्यवसायीलाई कानूनी सुरक्षा, लगानी प्रोत्साहन, कर सहुलियत दिँदा देश समृद्ध बन्न सक्छ ।
सूचना प्रविधि मानव सभ्यताको सबैभन्दा ठूलो क्रान्ति हो । डिजिटल युगमा सरकारको काम प्रविधिलाई नियन्त्रण गर्ने होइन, सही रूपमा प्रवद्र्धन गर्ने हुनुपर्छ । सामाजिक सञ्जाल नियन्त्रण गरेर आलोचनाका आवाज दबाउने प्रयास लोकतान्त्रिक मूल्य–मान्यताको अपमान हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
भुमबहादुर भण्डारी । युवा नेता एवं समाजसेवी