सूचनाको शक्ति - The Power Of Information

        

वर्ल्डलिङ्कको इन्टरनेटले प्रयोगकर्तालाई सास्ती

नेपालगन्जमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा, ‘बाँदरको पुच्छर लौरो न हतियार’

२०० एमबिपिएस स्पिड पाउने गरि वर्ल्डलिङ्कको इन्टरनेट जोडेको सत्यपाटी पब्लिकेशन प्रालिमा वर्ल्डलिङ्क इन्टरनेट सेवाको गति निकै न्यून छ ।

‘छिटो भनेकै वर्ल्डलिङ्क’ गज्जबको मन्त्र । अनि सेवा भने मन्त्रको ठ्याक्कै विपरित अर्थात् ‘सुस्त भनेकै वर्ल्डलिङ्क’ । नेपालगन्जमा ग्राहकका लागि वर्ल्डलिङ्क ‘बाँदरको पुच्छर लौरो न हतियार’ भनेझैं भएको छ । समस्या समाधानका लागि कम्पनीको बाँकेको नेपालगन्जस्थित शाखा कार्यालयदेखि केन्द्रसम्म हारगुहार गर्दा पनि पनि ग्राहकका लागि ‘बाँदरको पुच्छर लौरो न हतियार’ भनेझैं भएको छ ।

मोबाइलमा पनि नेट राम्रो नचल्ने भएपछि वर्ल्डलिङ्क इन्टरनेटका प्रयोगकर्ता दिक्क छन् । नेट चलेन भनेर फोन गर्दा दिन वित्छ, तर समस्या समाधान हुँदैन, भोलिपल्ट फेरि उस्तै समस्या । नेपालगन्जका एक इन्टरनेट प्रयोगकर्ता नेटको स्पिड कम हुँदै गएर हैरान छन् । सेवा प्रदायक कम्पनीलाई उनले पटक–पटक फोन गरे । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कबाट भने जडानको समयमा गरिएको शर्त अनुसार नै स्पिड दिएको जवाफ आउँछ ।

उनले जडान गरेको कम्पनीले तोकिए अनुसार नै स्पिडमा इन्टरनेट दिएको, तर कहिले जडान गरेको राउटरको क्षमता त कहिने केवल तारमा समस्या भएको भन्दै अनेकन समस्या देखाइन्छ । ‘मलाई जडानको बखत भएको स्पिड पुरा भए पुग्छ चलिराको राउटर किन फेर्नु ?’ सत्यपाटी पब्लिकेशनका अध्यक्ष काशीराम शर्मा भन्छन् । टिभी च्यानलसहित लाइन दिएका इन्टरनेटमा पटक–पटक समस्या आउनु सामान्य नै भएको छ ।

इन्टरनेट स्लो हुने, पटक–पटक कनेक्सन टुट्ने, युट्युव र फेसबुक सञ्जाल खोल्दा लोडिङमा समय लाग्ने समस्या आएपछि प्रयोगकर्ताले स्पिड वृद्धिको फण्डाले सेवामा गुणस्तरर नपाएको उपभोक्ताहरुको गुनासो छ । इन्टरनेट आजको अनिवार्य आवश्यकता भएको छ । जस्तोसुकै सूचना हेर्नुपरे पनि इन्टरनेटमै निर्भर हुने अवस्था छ । घरघरमा बिस्तार भएको इन्टरनेटबाट टिभी च्यानल हेर्ने सुविधाले यसको स्तरीय सेवाको आवश्यकता बढाएको छ ।

‘खर्चका हिसाबले मोबाइल डाटा चलाएर साध्य छैन । तर सेवा प्रदायक कम्पनीले गुणस्तर सुधार्न छोडेर स्पिडवारतर्फ केन्दित हुँदा सेवामा ध्यान भने दिएको पाइँदैन,’ शर्मा भन्छन् । वर्ल्डलिङ्कले समस्या समाधान गर्नुको सट्टा समस्यालाई नै अन्य उपकरणसँग जोड्ने गरेको उनको आरोप छ । २०० एमबिपिएस स्पिड पाउने गरि वर्ल्डलिङ्कको इन्टरनेट जोडेको सत्यपाटी पब्लिकेशन प्रालिमा वर्ल्डलिङ्क इन्टरनेट सेवाको गति निकै न्यून छ ।

पछिल्लो समय वर्ल्डलिङ्क इन्टरनेटको सेवाको गुणस्तरमा निकै समस्या देखिएको नेपालगन्जका प्रयोगकर्ताहरु बताउँछन् । नेपालगन्जस्थित सत्यपाटी पब्लिकेशन प्रालि वर्ल्डलिङ्क इन्टरनेटको ग्राहक अर्थात् प्रयोगकर्ता हो । तर, इन्टरनेटको गतिका कारण पब्लिकेशनबाट सम्पादन हुँदै आएका कामहरु प्रभावित हुँदै आएका छन् । सेवा प्रदायक कम्पनीमा पटक–पटक फोन गरे पनि समस्या समाधानमा बेवास्ता भइरहेको छ ।

एक सातादेखि लगातार वर्ल्डलिङ्क इन्टरनेटमा समस्या देखिरहेको छ । समस्याका बारेमा वर्ल्डलिङ्क कम्पनीका उपलब्ध भएका ०१–५९७००५०, ९८०१५२३०५० र ९८०१००७८४० नम्बरहरुमा सम्पर्क गरेर पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरिँदै सेवाग्राहीलाई तनाव र हैरानी दिने काम भइरहेको छ । फोन गर्दा कहिले कार्यालयमा आउन त कहिले केवल तारको समस्या, कहिले अन्य प्राविधिक समस्या भन्दै दुख दिँदै आएको छ ।

वर्ल्डलिङ्कको इन्टरनेट प्रयोग गर्दा कभरेज र गतिको समस्या भइरहेको छ । तार जोडेर प्रयोग गर्दा पनि इन्टरनेट गतिको समस्या उस्तै छ । इन्टरनेट सेवा गुणस्तरीय नहुँदा दैनिक गर्ने काम नै प्रभावित भएको वर्ल्डलिङ्क इन्टरनेट प्रयोगकर्ताहरु बताउँछन् । ‘वर्ल्डलिङ्क इन्टरनेट सेवामा फाइल लोड तथा अपलोड गर्दा गति अवरोध हुने, नचल्ने, अत्यधिक सुस्त गतिमा चल्नेजस्ता समस्या छ,’ सत्यपाटी पब्लिकेशनका कर्मचारी लक्ष्मण ढकालले भने ।

उनले धेरै पटक वर्ल्डलिङ्कलाई जानकारी गराए पनि समस्या समाधान नभएको भन्दै आक्रोश व्यक्ति गरे । वर्ल्डलिङ्क इन्टरनेटको सेवा गुणस्तरीय सेवा नभएपछि उपभोक्ताले सधैं सास्ती बेहोर्नुपर्ने बाध्यता रहेको छ । गुणस्तरीय सेवा प्रवाह नहुँदा उपभोक्ता बढी मारमा पर्ने गरेको ढकाल बताउँछन् । वर्ल्डलिङ्कले सेवाको प्रचार गरेअनुसार राम्रो काम नगरेको, बेलाबेलामा गति अवरोध हुँदै आएको छ । सेवाको प्रचार गरे अनुसार चलेको छैन,’ उनी भन्छन् ।

पब्लिकेशनका कर्मचारीले वर्ल्डलिङ्कलाई फोन गरेर सोध्दा त्यसको ठोस जवाफ पाउन सकेनन् । ग्राहकले इन्टरनेट जडान गर्दा गरेको सम्झौतामा उल्लेख भएअनुसारको क्षमता नपाए दूर सञ्चार प्राधिकरणमा उजुरी गर्न सक्ने व्यवस्था छ । तर स्पिडको नाममा उपभोक्ताको गुनासोमा नियामक निकाय प्राधिकरण भने मौन रहेको छ । इन्टरनेट कम्पनीले सर्तअनुसारको गुणस्तर नदिने र बिक्रीपछिको सेवामा पनि ध्यान नदिने गरेको ग्राहकको गुनासो छ ।

वर्ल्डलिङ्क इन्टरनेटको गुणस्तरका विषयमा अधिकांश उपभोक्ताको गुनासो शर्माकै जस्तो छ । इन्टरनेटको गुणस्तरदेखि बिक्रीपछिको सेवामा प्रयोगकर्ताको गुनासै–गुनासो देखिन्छ । तर, यसमा न त सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले सुधारको प्रयास गरेको देखिन्छ, न त चासो नै देखाएको पाइन्छ । शर्माले बार्षिक १६ हजार २७२ रुपैयाँ भुक्तानी गरी २० एमबिपिएस स्पिडको इन्टरनेट जोडे पनि बीच–बीचमा इन्टरनेट कनेक्सन काटिने समस्याले हैरान छन् ।

कार्यालयको काम गर्नुपर्ने भएपछि शर्मा दिनभरि इन्टरनेटको प्रयोग गर्छन् । ‘अहिले कार्यालयको काम गर्न समस्या भइरहेको छ । पैसा तिरेजत्तिको स्पिड कहिल्यै आउँदैन,’ उनले भने, ‘हप्तैपच्छिे इन्टरनेटमा समस्या आउँछ । कार्यालयमा फोन गर्यो भने बनावटी जवाफ आइरहन्छ, तर समस्याको समाधान कहिल्ये भएन ।’ उनले शुल्क भुक्तानी गरेअनुसारको कहिल्यै इन्टरनेट सुविधा पाएनन् । ‘काम गर्दागर्दै बीच–बीचमा इन्टरनेट बन्द हुन्छ ।

‘बारम्बार कनेक्सन काटिन्छ । कार्यालयमा फोन गरे पनि चित्तबुझ्दो जवाफ पाइँदैन,’ उनले भने, ‘कम्पनी परिवर्तन गरौँ भने पनि हैरान छ । जसको इन्टरनेट पनि यस्तै स्लो भएको गुनासो सुनिन्छ ।’ दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली, २०७३ ले इन्टरनेटको गुणस्तर तय गरेको छ । इन्टरनेट सेवा प्रदायकले चार घन्टाभित्र ९५ प्रतिशत वा सोभन्दा बढी ग्राहकको सेवा क्रियाशील तथा सेवा प्रदान (सर्भिस एक्टिभेसन एन्ड प्रोभिजनिङ) गर्नुपर्ने हुन्छ ।

डाटा प्राप्ति (डाटा डाउनलोड) सफलताको दर ८० प्रतिशत वा सोभन्दा बढी हुनुपर्छ । डाटा पठाउने (डाटा अपलोड) सफलताको दर ७५ प्रतिशत वा सोभन्दा बढी हुनुपर्छ । डाटाको वहाब (थ्रोपुट) ग्राहकले खरिद गरेको गतिको ७५ प्रतिशत वा सोभन्दा बढी हुनुपर्छ । डाटालाई लक्षित स्थानसम्म पुग्न लाग्ने समय (डाटा लेटेन्सी) २५० मिलिसेकेन्ड वा सोभन्दा कम हुनुपर्ने कानुनी व्यवस्था दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली, २०७३ ले गरेको छ ।

इन्टरनेटको गुणस्तर कसरी मापन गर्ने ?

इन्टरनेटको गुणस्तर मापन गर्ने विभिन्न थरीका डिभाइस तथा सफ्टवेयरहरू रहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले पनि इन्टरनेटको गुणस्तर मापन गर्ने सफ्टवेयर सञ्चालन गरिरहेको छ । प्रयोगकर्ताले प्राधिकरणको वेबसाइटमा गएर पनि आफूले प्रयोग गरिरहेको इन्टरनेटको गुणस्तर मापन गर्न सक्छन् । प्राधिकरणको वेबसाइट स्क्रोल गरेर सबैभन्दा तल जानुहोस् । त्यहाँ तपाईंले ‘स्पिड टेस्ट’ देख्नुहुनेछ । उक्त स्पिड टेस्टलाई क्लिक गर्नुहोस् ।

अब तपाईंले त्यहाँ इन्टरनेट सेवाको गुणस्तर मापन गर्ने सफ्टेयर देखिन्छ (घडीजस्तै) । त्यहाँ तपाईंले ‘स्टार्ट’मा क्लिक गर्नुहोस् । टेस्ट सकिएपछि तपाईंको इन्टरनेट सेवाको गुणस्तर के–कस्तो छ भन्ने रिजल्ट त्यहाँ देखिन्छ । यसका अलावा तपाईंले ‘फास्ट डटकम’, ‘स्पिड टेस्ट डटनेट’, ‘स्पिड चेक ओआरजी’, ‘टेस्ट माई नेट’ लगायत साइटमा गएर पनि आफ्नो इन्टरनेट सेवाको गति परीक्षण गर्न सकिन्छ ।

प्रकाशित मिति : ८ पुष २०८१, सोमबार १४:४८

लोकप्रिय