सूचनाको शक्ति - The Power Of Information

        

बाघ र आहारा प्रजातिको अनुगमन गर्दै बाँके निकुञ्ज

पश्चिम नेपालका दुई प्रमुख निकुञ्जहरु बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको अनुगमन कार्य सुरु गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले बाँके र बर्दियाका दुवै राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिङ, चिन्ह पहिचान र डिएनए परीक्षण प्रविधिको प्रयोगमार्फत अनुगमन सुरु गरिएको बताए ।

उनले यो अनुगमन कार्यले दुबै निकुञ्जमा रहेका बाघको संख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुने जनाउँदै त्यसबाट आगामी कार्ययोजना बनाउन सहज हुने बताए । यस प्रविधिको प्रयोगले बाघ र बाघको आहारा प्रजातिको संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएसँगै सूचना अधिकारी पंगेनीले बाँके र बर्दियामा शुरु गरिएको यो अनुगमनले बाघ संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

उनका अनुसार बाँके राष्ट्रिय निकुञ्जलाई चार ब्लकमा विभाजन गरी दुई किलोमिटर क्षेत्रफलको एउटा ग्रिड बनाएर स्वचालित क्यामेरा राखिएको छ । क्यामेराको सहयोगले बाघ र आहारा प्रजातिको गतिविधि र दिशा सम्बन्धी तथ्याङ्क सङ्कलन गरिने छ । यस कार्यमा निकुञ्जका प्राविधिक कर्मचारी र नेपाली सेनालाई आवश्यक तालिम प्रदान गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार अनुगमन कार्यलाई अझ प्रभावकारी बनाउन बाँके निकुञ्जको जंगलमा १२० स्थानमा स्वचालित क्यामेरा राखेर अनुगमन गरिनेछ ।

बाँकेको खडकबारस्थित हात्तीसार क्षेत्रमा वनदेवीको पूजा गरी अनुगमन औपचारिक रुपमा सुरु गरिएको छ । डिआइ परियोजना अन्तर्गत जेडएसएल र एनटीएनसीले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग सहकार्य गरी अनुगमन कार्यलाई अघि बढाएको जनाइएको छ । अनुगमनका लागि खटिएका २० जना प्राविधिक कर्मचारीहरूले ८० दिनसम्म जंगलमै बसेर काम गर्ने बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

पछिल्लो समयमा आएर दुबै निकुञ्जको नजिक रहेका बस्तीहरुमा छिरेर बाघले सर्वसाधारणलाई आक्रमण गर्ने र वन्यजन्तुले घर भत्काउने तथा खाद्यान्न नष्ट गर्ने कार्य बढेको स्थानीयको गुनासो छ । वन्यजन्तु र मानिसविचको द्धन्द बढ्दै गएकोले सो रोक्नका लागि प्रभावकारी योजना शुरु गर्न स्थानीयले पटक पटक सरकारसँग माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २ पुष २०८१, मंगलवार १६:५७

लोकप्रिय