कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करी धन्दामा मुछिएका छन् । किर्ते कागजात तयार गरी उनीसँगै जापान गएका तीन युवा पक्राउ परेपछि यो तथ्य खुलेको हो । अनुसन्धानमा सघाउने भन्दै मन्त्री अधिकारीले भने बुधबार पदबाट राजीनामा दिएका छन् ।
जापानको राजधानी टोकियोस्थित टोकियो महानगरपालिकामा हुने सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि बन्ने भन्दै १३ कात्तिकमा उनी जापान उडेका थिए । तर, मन्त्रिपरिषद् वा मुख्यमन्त्रीबाट अनुमति लिनुपर्ने कूटनीतिक मर्यादा तोडेर गएका थिए । उनीसँगै खोटाङ ऐँसेलुखर्कका जनक राई, खोटाङकै दावा शेर्पा र रसुवाका कञ्चन देवकोटा जापान पुगेकामा टोकियो अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो ।
उनीहरू नेपाल ओर्लिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले तीन जना युवालाई पक्राउ गरी विमानस्थलस्थित सुरक्षागार्डलाई जिम्मा लगाएको थियो । विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले जापान अध्यागमनबाट डिपोर्ट भएपछि आइपुगेका तीन युवालाई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको बताए ।
‘यताबाट मन्त्रीसँगै तीनजना जापान गएका रहेछन् । उनीहरूलाई जापानस्थित अध्यागमन कार्यालयले नेपाल डिपोर्ट गर्यो । यहाँ आएलगत्तै हामीले तीनजनालाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छौँ । घटना सम्बन्धमा अनुसन्धान हुँदै होला ।’ बुधबार पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएका मन्त्री अधिकारीले भने तीन युवालाई जापान अध्यागमनले डिपोर्ट गरेपछि आफू पनि फस्ने डरले उनीहरूसँगै फर्किएको दाबी गरेका छन् ।
तर, अध्यागमन र प्रहरी स्रोतले भने तीन युवासँगै मन्त्री अधिकारीको पनि डिपोर्ट भएको जनाएको छ । मोरङका स्थापित कानुन व्यवसायीसमेत रहेका अधिकारी एमालेबाट उम्मेदवार बनेर मोरङ २ बाटै प्रदेशसभामा दुईपटक निर्वाचित सांसद हुन् । पहिलो कार्यकालमा पनि सुनकाण्डका तस्करको पक्षमा वकालत गरेको भन्दै उनी विवादमा परेका थिए ।
त्यतिवेला सनम शाक्य हत्या प्रकरणमा गोरे टिममा रहेका भनिएका प्रहरी अधिकारीहरूको तर्फबाट बहस गरेका अधिकारीलाई एमालेकै तत्कालीन संसदीय दलका नेता शेरधन राईले स्पष्टीकरण सोधेर एक वर्षभन्दा लामो समयसम्म प्रदेशसभामा बोल्न दिएका थिएनन् । प्रहरीका अनुसार पक्राउ परेका दावा र कञ्चनसँग मन्त्री अधिकारीको सचिवालय सहायक भनी उल्लेख भएको परिचयपत्र बरामद भएको छ ।
साथै अर्का जनकसँग खोटाङस्थित ऐँसेलुखर्क गाउँपालिकाको वडा सदस्य उल्लेख भएको परिचयपत्र फेला परेको छ । बरामद सबै परिचयपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेको छ । त्यस्तै, परिचयपत्र बनाउने धन्दामा संलग्न युगल रिजाल, महेश पाण्डे र वीरबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको घटनाको अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।
एसपी आचार्यले मन्त्री अधिकारीसँगै जापानबाट डिपोर्ट भएकाहरूसँग नक्कली परिचयपत्र फेला परेको बताए । उनले भने, ‘जापानबाट डिपोर्ट भएर पक्राउ परेका तीन जनामाथि अनुसन्धानका क्रममा उनीहरूले बोकेका परिचयपत्र नक्कली रहेको खुल्यो । धन्दामा संलग्न अन्य तीनजना पनि पक्राउ परेका छन् । घटनामा अरू पनि संलग्न रहेको देखिन्छ । खोजी कार्य हुँदैछ । थप तथ्य खुल्दै जालान् ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं