नेपाली कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजबाट सुरु हुँदै छ । पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आजदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका कमीकमजोरी सच्चाउँदै सशक्त रूपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाहका लागि योजना बनाउन ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागिएको बताए ।
हल्ला र कानेखुसीले पार्टी कमजोर हुने भएकाले त्यसतर्फ नलाग्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्दै पौडेलले पार्टीलाई सशक्त बनाउन आपसी सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए ।
पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका बनाउन अभियान सुरु गर्न लागिएको जानकारी दिए । मंसिरभित्रै जिल्ला र प्रदेश अधिवेशनका साथै स्थानीय तह निर्वाचनको तयारीलाई व्यापक बनाइने उल्लेख गर्दै उनले शीघ्र अभियानको खाकासहितको सर्कुलर प्रदेश र जिल्ला तहमा पठाइने बताएका छन् ।
