२०८३ मंसिर १ , मंगलबार 17, November 2026, Tuesday

स्थानीय तह निर्वाचनको तयारी, दलहरूसँग छलफल गर्दै आयोग

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको आवश्यक तयारी र व्यवस्थापनबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त छ राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । यही मङ्सिर ४ गते बिहान साढे ११ बजेका लागि राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीलाई बैठकमा बोलाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचनको सम्भावित मिति, निर्वाचन व्यवस्थापन, आवश्यक पूर्वतयारी र राजनीतिक दलहरूको सुझाव लिनका लागि छलफल गर्न लागिएको उनले बताए । प्रवक्ता भट्टराईले भने, ‘बैठकमा विशेष गरी स्थानीय तह निर्वाचनको तयारी र व्यवस्थापनका विषयमा छलफल हुने छ । सरकारले निर्वाचन आयोगसँगको परामर्शमा निर्वाचनको मिति तय गर्ने भएकाले यस विषयमा सरकारसँग कुराकानी भइरहेको छ भने राजनीतिक दलहरूसँग पनि छलफल गर्न लागेका छौँ ।’

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलपछि क्रमश: आयोगमा दर्ता भएका अन्य राजनीतिक दलसँग पनि परामर्श गर्ने प्रवक्ता भट्टराईले जानकारी दिए । स्थानीय तहका वर्तमान जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था अनुसार निर्वाचन सम्पन्न गर्न आयोगलाई कम्तीमा चार महिनाको समय आवश्यक पर्ने प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रवक्ता भट्टराईले भने, ‘राजनीतिक दलहरूसँगको परामर्शपछि छिट्टै सरकारसँग पनि यसबारे परामर्श गर्ने तयारी छ । निर्वाचन कानुन अनुसार निर्वाचनको उपयुक्त मिति घोषणा गर्न पनि आयोगले सरकारलाई सुझाव दिनेछ ।’ प्रवक्ता भट्टराईले निर्वाचन कानुन अनुसार मतदानको मितिभन्दा चार महिनाअघि सरकारले निर्वाचनको मिति घोषणा गर्नुपर्ने हुन्छ । आयोगलाई निर्वाचनको तयारी गर्न १२० दिन समय लाग्ने भएकाले सोही अनुसार आयोगले सरकारलाई परामर्श दिने उल्लेख गरे ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ मा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले स्थानीय तह निर्वाचनका लागि मिति तोक्नुपर्ने व्यवस्था रहेको छ । २०७९ वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल २०८४ जेठ ५ गते समाप्त हुँदै छ । निर्वाचन आयोगलाई तयारी स्वरूप चाहिने चार महिना समय राख्दा आगामी पुस महिनाभित्र सरकारले निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने छ । यसैबिच आयोगले निर्वाचनको पूर्वतयारीसमेत अघि बढाइसकेको छ । प्रवक्ता भट्टराईका अनुसार मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको छ भने निर्वाचनसँग सम्बन्धित अन्य नियमित तयारी पनि अघि बढिरहेको छ ।

प्रकाशित मिति : २०८३ मंसिर १ गते मंगलबार