पाटेबाघ लगायत विभिन्न जनावर अवलोकनका लागि सबैभन्दा राम्रो मानिएको बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समय पर्यटकको सङ्ख्या बढ्दै जाँदा निकुञ्जका पाँच वटै जङ्गल सफारी रुट सञ्चालनमा ल्याइएको छ । निकुञ्जका पाँच वटै सफारी रुट सञ्चालनमा आएसँगै पाटेबाघ, चौका, हात्ती, विभिन्न प्रजातिका चराचुरुङ्गी तथा अन्य वन्यजन्तु अवलोकनको सम्भावना थप फराकिलो बनेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले पछिल्लो समयमा पाटेबाघ लगायतका जनावर तथा चरा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएकाले निकुञ्जका पाँच वटै सफारी रुट सञ्चालन गरिएको बताए । उनले सफारीका सबै रुट सञ्चालनमा आएसँगै जिल्लाको पर्यटन प्रवर्द्धन र पर्यटकको बसाइ अवधि बढाउन बाँकेका तारे होटेल तथा पर्यटन व्यवसायीसँग छलफल भइरहेको बताए ।
प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार निकुञ्जको प्राकृतिक सुन्दरता, जैविक विविधता र वन्यजन्तुलाई पर्यटकीय उत्पादनका रूपमा विकास गर्ने उद्देश्यले नेपालगन्ज र कोहलपुरका होटेल व्यवसायीले एकीकृत ‘सफारी प्याकेज’ निर्माणको पहल पनि थालेका छन् । होटेल एसोसिएसन नेपाल (हान), बाँके च्याप्टर र नाट्टा बाँकेसँगको पहलमा आन्तरिक तथा बाह्य पर्यटक, विशेषगरी भारतीय पर्यटकलाई लक्ष्य गरिएको नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले बताए ।
उनका अनुसार प्रस्तावित प्याकेजमा होटेलदेखि निकुञ्जसम्मको यातायात, अनुभवी प्रकृति पथप्रदर्शक, जिप सफारी, निकुञ्ज प्रवेश शुल्क र स्थानीय परिकारको स्वाद लगायतका सेवा समेट्ने योजना छ । उनका अनुसार बाँके आउने पर्यटकलाई एक दिनका लागि मात्र सीमित नराखी कम्तीमा दुई दिनसम्म बस्ने वातावरण निर्माण गर्न आवश्यक छ ।
नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीमबहादुर डाँगीका अनुसार बाँके राष्ट्रिय निकुञ्ज भौगोलिक बनावट र जैविक विविधताका हिसाबले अन्य निकुञ्जभन्दा पृथक छ । यहाँ चुरे पहाड, भावर क्षेत्र, ठुला रूख तथा विभिन्न जडीबुटीजन्य वनस्पति पाइने भएकाले प्रकृतिप्रेमी पर्यटकका लागि विशेष आकर्षण रहेको उनले बताए । बाँके राष्ट्रिय निकुञ्ज मुख्यत: पाटेबाघको संरक्षणका लागि स्थापना गरिएको हो ।
यहाँ हाल ५१ वटा पाटेबाघ रहेको तथ्याङ्क छ । लेजर प्रविधि तथा सिसिटिभीको सहायताबाट बाघ अनुगमन गरिँदै आएको उनले जानकारी दिए । नेचर गाइड डाँगीका अनुसार बाँके राष्ट्रिय निकुञ्जमा तीन सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी, ५५ प्रजातिका माछा, २४ प्रजातिका सरीसृप, ३४ प्रजातिका स्तनधारी तथा नौ प्रजातिका उभयचर पाइन्छन् । नेपाल र भारतमा मात्र पाइने चौका यहाँको विशिष्ट वन्यजन्तु आकर्षणमध्ये एक हो ।
