२०८३ कात्तिक ३० , सोमबार 16, November 2026, Monday

एकैसाथ अवकाशमा जाँदै पाँच एआइजी

प्रहरीमा एक महिनापछि एकैसाथ पाँच जना उच्च प्रहरी अधिकारीले अवकाश पाउने भएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकले अवकाश पाउन लागेका हुन् । उनीहरु पाँचजना नै प्रहरीको ३० वर्षे सेवा अवधिका आधारमा अवकाशमा जान लागेका हुन् ।

उनीहरु २०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए । पछि भने नेपाल प्रहरीमा स्थानान्तरण गरिएको थियो । तर, सेवाअवधि भने राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएकै मितिदेखि लागु हुने भएपछि उनीहरु पुस ५ गतेबाट अवकाशमा जान लागेका हुन् । हाल शाह प्रहरी प्रधान कार्यालयको प्रदेश समन्यव विभागमा कार्यरत छन् ।

यसरी नै राठौर उपत्यका प्रहरी कार्यालय रानीपोखरी, चतुर्वेदी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) हिमालय श्रेष्ठ प्रहरी प्रधान कार्यालयको कार्य विभाग र विक प्रशासन विभाग प्रमुख छन् । प्रहरीमा ८ जना एआइजीहरुको दरबन्दी छ । हाल एक एआइजी रिक्त छ । सरकारले कात्तिक १८ गते नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीलाई हटाएर एआइजी मनोज केसीलाई आइजीपी नियुक्त गरेसँगै एक एआइजीको दरबन्दी रिक्त भएको थियो ।

यो संख्या पुस ५ देखि भने एआइजीको रिक्त दरबन्दी ६ पुग्नेछ । हाल एआइजीहरुमा राजन अधिकारी र ईश्वर कार्की मात्रै बाँकी रहने छन् । उनीहरु दुवैजना हालका आइजीपी केसीकै ब्याची हुन् । उनीहरु २०५४ मा चैत १८ मा प्रहरी निरीक्षकमा भर्ना भएका टोलीहरु हुन् । एकैसाथ ६ एआइजीहरुको दरबन्दी रिक्त हुने भएपछि एआइजी बढुवाका लागि डीआइजीहरुको लिगलिगे दौड सुरु भइसकेको छ । हालका आइजीपी केसीकै ब्याचीहरुसमेत केही डीआइजी नै छन् ।

उनीहरुभन्दा पछिल्लो ब्याचका डीआइजीहरुसमेत यही मौकामा एआइजी बढुवा भएर भावि प्रहरी नेतृत्वमा पुग्न चाहन्छन् । एआईजीका ब्याचीहरुमा राजेन्द्र भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया र दिपेन्द्र घर्ती छन् । यसरी नै सुदर्शन कोइराला, दिपककुमार बस्नेत र जयराज सापकोटा पनि बढुवाका प्रतिस्पर्धामा छन् । उनीहरु एआइजी भए पनि हालका आईजीपी केसीसँगै २०८४ चैतमा अवकाशमा जानेछन् ।

को-को छन् प्रतिस्पर्धी ?

हालका आइजीपी पछि नेतृत्वमा को रहने भन्ने दौडसमेत यही बढुवासँगै हुने देखिन्छ । हालका आइजीपी केसीका ब्याचीबाहेक २०५६ मा भर्ना भएका टोलीबाट एआइजीमा बढुवा गरिए उनीहरुबाट एकजना २०८४ चैत पछि आईजीपी बन्नेछन् । यो समूहबाट डीआइजीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले र विश्व अधिकारी एआइजी बढुवाका दावेबार रहनेछन् ।

यो समूहबाट डीआइजी बढुवाको पहिलो नम्बरमा डीआइजी खत्री छन् । हाल लुम्बिनी प्रदेश प्रहरी प्रमुखको कमान्ड सम्हालेका खत्रीपछि क्रमश: भट्टराई, ओम अधिकारी, खनाल, काफ्ले र विश्व अधिकारी छन् । भट्टराई हाल सुदूरश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख, अधिकारी मधेश प्रदेश, खनाल कोसी प्रदेशको कमान्डर छन् ।

काफ्ले नेपाल प्रहरीको प्रवक्ताको भूमिकामा छन् भने विश्व अधिकारी प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा रहेका छन् । सबैभन्दा बढी पेचिलो बढुवा यही समूहबाट हुने देखिन्छ । सरकारले हालका आइजीपीकै ब्याचीबाट बढुवा गरेको खण्डमा उनीहरुको बढुवा केहीपर धकेलिने छ । तर, यही पुस ५ पछि बढुवामा फड्को मार्ने अधिकारीलाई भने आइजीपी बन्ने ढोका खुल्नेछ ।

प्रकाशित मिति : २०८३ कात्तिक ३० गते सोमबार