नेपालको पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावित भण्डारका रूपमा हेरिएको दैलेखको पेट्रोलियम अन्वेषण परियोजना पहिलो चरणको काम पूरा गरेर व्यावसायिक उत्खननको प्रतीक्षामा रहेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएको परियोजनाअन्तर्गत दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा गरिएको ड्रिलिङबाट प्राकृतिक ग्यासको ठूलो भण्डार रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो । नेपाल र चीनबीच सन् २०१६ मा भएको समझदारीलाई आधार बनाएर अघि बढाइएको यो परियोजनालाई नेपालको ऊर्जा क्षेत्रका लागि महत्त्वपूर्ण आयोजनाका रूपमा लिइएको छ । नेपाल सरकार र चीन सरकारबीच २०७५ फागुन १६ (२८ फेब्रुअरी २०१९) मा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननसम्बन्धी सम्झौता भएको थियो ।
चीन सरकारले करिब दुई अर्ब ५० करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने गरी परियोजना अघि बढाएको हो । सुरुमा तीन वर्षभित्र अन्वेषण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड महामारी, भौगोलिक कठिनाइ, सडक पूर्वाधारको समस्या, उपकरण ढुवानी तथा जग्गा अधिग्रहणलगायत कारणले काममा ढिलाइ भएको थियो । परियोजनाको पहिलो चरणमा चिनियाँ प्राविधिक टोलीले भौगर्भिक सर्वेक्षण, सिस्मिक सर्वेक्षण, म्याग्नेटोटेल्युरिक सर्वेक्षण तथा जियोकेमिकल स्याम्पलिङ लगायत अध्ययन गरेको थियो ।
ती अध्ययनबाट पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास हुन सक्ने सम्भावित क्षेत्र पहिचान भएपछि जलजलेमा ड्रिलिङ गर्ने स्थान तय गरिएको थियो । यसका लागि भैरवी गाउँपालिका–१ जलजलेमा करिब ४५ रोपनी जग्गा अधिग्रहण गरी आवश्यक संरचना निर्माण गरिएको थियो । त्यसपछि सन् २०२४ मे महिनाबाट सुरु भएको ड्रिलिङका क्रममा जमिनमुनि चार हजार १३ मिटर गहिराइसम्म खनिएको थियो । ड्रिलिङबाट संकलन गरिएका माटो तथा चट्टानका नमुना परीक्षणका लागि चीन पठाइएको थियो ।
८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यासको भण्डार
चिनियाँ प्राविधिक टोलीले गरेको अध्ययन प्रतिवेदन अनुसार जलजले क्षेत्रमा करिब ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि भएको छ । यसअघि प्रारम्भिक अध्ययनले ११२ अर्ब घनमिटरसम्म ग्यास हुन सक्ने अनुमान गरेको थियो । तर ग्यासको भण्डार पहिचान हुँदैमा व्यावसायिक उत्पादन तत्काल सुरु गर्न सकिने अवस्था भने छैन । ग्यासको गुणस्तर, दबाब, प्रवाह क्षमता र व्यावसायिक रूपमा निकाल्न सकिने अवस्थाबारे थप परीक्षण आवश्यक रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ । विशेषगरी ‘वेल टेस्टिङ’ अर्थात् इनार परीक्षणपछि मात्रै उत्पादनको सम्भावना र आवश्यक प्रविधिबारे टुंगो लाग्नेछ ।
दोस्रो चरणको कामका लागि सम्झौताको तयारी
पहिलो चरणको ड्रिलिङ तथा अन्वेषण सम्पन्न भइसके पनि दोस्रो चरणको काम भने अघि बढ्न सकेको छैन । परीक्षणका लागि आवश्यक प्रक्रिया र चीनसँगको थप सम्झौता नहुँदा आयोजनाको काम अघि बढ्न सकेको छैन् । २०७३ सालमा भएको नेपाल–चीन समझदारी र २०७५ सालको सम्झौताअनुसार अघि बढेको परियोजनालाई व्यावसायिक उत्पादनतर्फ लैजान खानी तथा भूगर्भ विभागले २०८३ जेठमा चीनको चाइना जियोलोजिकल सर्भेसँग दोस्रो चरणको सम्झौताका लागि आन्तरिक तयारी थालेको जनाएको थियो ।
तर २०८३ साउनमा प्रकाशित विवरणअनुसार दोस्रो चरणको काम सुरु हुन नसक्दा जलजलेमा जडान गरिएका महँगा ड्रिलिङ मेसिन तथा उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन् । केही उपकरणमा खिया लाग्न थालेको स्थानीय व्यवसायीले बताएका छन् । दोस्रो चरणको काम कहिलेदेखि सुरु हुन्छ भन्ने स्पष्ट समयतालिका भने सार्वजनिक भएको छैन ।
उत्पादन सुरु भए नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?
दैलेखमा प्राकृतिक ग्यासको व्यावसायिक उत्पादन सम्भव भए नेपालले पेट्रोलियम पदार्थ तथा ग्यासको आयातमा खर्च गर्दै आएको ठूलो रकम बचत गर्न सक्ने अपेक्षा गरिएको छ । प्राकृतिक ग्यासलाई खाना पकाउने इन्धन, उद्योग सञ्चालन, विद्युत् उत्पादन तथा अन्य औद्योगिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ । त्यस्तै, व्यावसायिक उत्पादन सुरु भए दैलेखसहित कर्णाली प्रदेशको आर्थिक गतिविधि बढ्ने, रोजगारी सिर्जना हुने, पूर्वाधार विकास हुने र विदेशी लगानी आकर्षित हुने सम्भावना छ ।
तर यसका लागि ग्यास प्रशोधन केन्द्र, भण्डारण, ढुवानी तथा वितरण प्रणाली निर्माण गर्नुपर्ने हुन्छ । हालसम्मको अध्ययनले दैलेखमा प्राकृतिक ग्यासको उल्लेख्य भण्डार रहेको देखाए पनि त्यसको व्यावसायिक उत्पादन सम्भाव्यता परीक्षणबाट पुष्टि हुन बाँकी छ । त्यसैले अहिले दैलेखको पेट्रोलियम परियोजनाको मुख्य चुनौती उत्खननका लागि थप प्राविधिक परीक्षण, नेपाल–चीनबीच दोस्रो चरणको सम्झौता र व्यावसायिक उत्पादनको स्पष्ट योजना निर्माण गर्नु हो । वर्षौँदेखि अन्वेषणमा लागेको आयोजना अब उत्पादनको चरणमा पुग्न सरकारको सक्रियता र आवश्यक लगानीको प्रतीक्षामा छ ।

तस्वीरहरु : प्रकाश चन्द्र तिमिल्सेना । नेपाल फोटो लाइब्रेरी
