नेपालगन्ज उपमहानगरपालिकाले करिब १० करोड रुपैयाँ खर्च गरेर पर्यटकीय गन्तव्यका रूपमा निर्माण गरेको कान्ति ताल अहिले जीर्ण र अस्तव्यस्त बन्दै गएको छ । उपमहानगरपालिकाले नगरवासीका लागि घुमघाम र रमाइलोका लागि निर्माण गरेको सो तालको उचित संरक्षण र रेखदेख नहुँदा १० करोड रुपैयाँ बालुवामा पानी हाले जस्तै भएको हो ।
सरंक्षण नहुँदा नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति तालका आकर्षक संरचना भत्किएका छन् । सौन्दर्य अभिवृद्धिका लागि निर्माण गरिएका रेलिङ भत्किएका छन् भने ताल क्षेत्र झाडी र बुट्यानले ढाकिएको छ । स्थानीय पूर्वाधार विकास र तालको सौन्दर्य अभिवृद्धिका लागि उपमहानगरले १० करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएका संरचनाको सामान्य मर्मत सम्भार र नियमित रेखदेखसमेत हुन नसकेको स्थानीयको भनाइ छ ।
नेपालगन्ज–२२ पुरैनीका स्थानीय चेतबहादुर थापाले उपमहानगरपालिकाको बेवास्ताका कारण कान्ति तालको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको बताए । उनका अनुसार ताल संरक्षणका लागि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएको छैन । थापाका अनुसार कान्ति ताल पर्यटकीय पूर्वाधार मात्र नभई जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र हो । ताल विभिन्न प्रजातिका चराचुरुङ्गीको प्राकृतिक बासस्थानसमेत हो ।
तर, संरक्षणको अभावमा तालको प्राकृतिक स्वरूप र जैविक विविधता दुवै जोखिममा पर्दै गएका छन् । पर्यावरण तथा चरा संरक्षणमा क्रियाशील अभियन्ताहरूले समेत तालको प्राकृतिक स्वरूप जोगाउन र पुरानै अवस्थामा फर्काउन आवाज उठाउँदै आएका छन् । तर, सम्बन्धित निकायले चासो नदिँदा संरक्षणको काम अघि बढ्न सकेको छैन । ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ राजस्व बुझाउने सम्झौतामा ठेक्का लिएका फनबहादुर गुरुङले पनि ताल परिसरका संरचना तोडफोड भएको बताए ।
उनका अनुसार रेलिङ तथा अन्य पूर्वाधार लागुऔषध प्रयोगकर्ताहरूले तोडफोड गरेको हुन सक्ने देखिएको छ । सो बारेमा प्रतिक्रिया माग्दा नेपालगनज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा बनाइएका योजनाले अपेक्षित नतिजा दिन नसकेको जनाउँदै अब सरोकारवाला निकायका प्रतिनिधिसँग गहन छलफल गरेर कान्ति तालको दिगो संरक्षण र व्यवस्थापनका लागि प्रभावकारी नयाँ योजना बनाउने तयारीमा रहेको बताए ।
तर, नयाँ योजना बनाउने उपमहानगरपालिकाको भनाइसँगै पुराना संरचनाको संरक्षण र खर्च भएको रकमको प्रतिफलमाथि पनि प्रश्न उठेको छ । सात वर्षअघि सुरु गरिएको योजना अलपत्र पर्दा करोडौँको लगानी खेर जाने जोखिम बढेको छ । कुनै समय नेपालगन्जको पर्यटन र आर्थिक समृद्धिको आधार बन्ने अपेक्षा गरिएको कान्ति ताललाई तत्काल संरक्षण गर्नुपर्ने नागरिक सरोकार मञ्च बाँकेका संयोजक अगुवा कृष्णप्रसाद श्रेष्ठले बताए ।
