कुनै बेला खेतबारीमा हिउँद लागेसँगै प्रशस्तै देखिने बट्टाई चरा पछिल्लो समय दुर्लभ बन्दै गएको छ । धान काटिसकेपछि खेतमा बाँकी रहने धानको लिन (निन्हा), पराल र घाँसपातमा लुक्दै आहारा खोज्ने चरा अहिले किसानका खेतबारीमा देखिन छाडेका छन् ।
खेती प्रणालीमा आएको परिवर्तन, धान काट्ने समय र खेत आसपासमा खरकटीको अभावले यो चराको प्राकृतिक वासस्थान साँघुरो हुँदै गएको छ । कुनै समय दाङका किसानका लागि यो चरा आम्दानीको एउटा स्रोतसमेत थियो । धान काटिसकेपछि खेतमा यसको गुँडबाट झिकेर एक जोडीको ३०० देखि ५०० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसान सम्झन्छन् ।
खेती प्रणालीमा आएको परिवर्तनले बट्टाईको वासस्थान र प्रजनन चक्रमा समेत असर परेको छ । पहिले धानखेतका आली र खरकटीमा बट्टाईले गुँड लगाउने, अन्डा पार्ने र बच्चा हुर्काउने गर्थे । अहिले धान छिटो भित्र्याउने र खेतमा घाँसपात नरहने अवस्थाले चराको प्राकृतिक आश्रयस्थल घटेको उनी बताउँछन् ।
खेतको आसपासमा घाँसेमैदान तथा खरकटी पनि पाइँदैन । त्यसले गर्दा बट्टाई देखिन छाडेका छन् । खासगरी बट्टाई तराईका धानखेत, घाँसेमैदान र झाडी भएका क्षेत्रमा बसोबास गर्ने, जमिनमा गुँड बनाउने प्रजातिका चरा हुन् । खेत तथा बारीमा पाइने बिउ र साना किरा यिनका प्रमुख आहारा हुन् ।
खेतमा पर्याप्त घाँस, झारपात र खरकटी हुँदा यिनले लुक्ने, गुँड बनाउने र बच्चा हुर्काउने अनुकूल वातावरण पाउँछन् । पहिले धान काटेपछि लामो समयसम्म खेतमा रहने खरकटी अहिले छिट्टै हटाइने वा खेत सफा गरिने भएकाले यो चराको आश्रय पाउने ठाउँ घट्दै गएको छ ।
बट्टाई हराउँदै जानु एउटा चराको सङ्ख्या घट्नु मात्रै होइन, खेती प्रणालीसँग जोडिएको परम्परागत जैविक विविधतामा आएको परिवर्तनको सङ्केत पनि हो । डिभिजन वन कार्यालय दाङ (देउखुरी) का वन व्यवस्थापन शाखाका वरिष्ठ फरेस्टर चिरञ्जीवी खनालले पनि खेती प्रणालीमा आएको परिवर्तनका कारण पनि यो सानो चरा हराउँदै गएको बताए ।
अहिले कात्तिकमै धान भित्र्याइसकिने भएकाले उनीहरूले आश्रय लिने ठाउँ, आहारा र गुँड बनाउन उपयुक्त स्थानको अभाव भएकाले पनि खेतबारी छाडेर अन्यत्र वासस्थान खोज्न थालेका हुन सक्ने उनको भनाइ थियो । वातावरणीय सन्तुलन कायम राख्न यस्ता चराको प्राकृतिक वासस्थान संरक्षण गर्न आवश्यक रहेको पनि उनले बताए ।
