२०८३ कात्तिक २१ , शनिबार 7, November 2026, Saturday

डिजिटल सङ्गीतको भिडमा मादलको आफ्नै लय

तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न थालेको छ । तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यस समयमा यसको व्यापार बढ्ने गरेको व्यापारी बताउँछन् । आधुनिक प्रविधिको विकाससँगै गीतसङ्गीत तथा सांस्कृतिक कार्यक्रममा डिजिटल साउन्ड सिस्टमको प्रयोग बढे पनि देउसीभैलोमा मादलको आकर्षण घटेको छैन ।

तिहारमा देउसीभैलो खेल्ने समूहले मादललाई प्राथमिकता दिने गरेका छन् । सुनसरीको धरान उपमहानगरपालिका–२ छाताचोकस्थित साल्सा म्युजिक स्टोरका सञ्चालक सुमन चौधरीले तिहारमा मादलको बिक्री बढी हुने गरेको बताए । विगत २० वर्षदेखि मादल, गितारलगायत विभिन्न बाजाको व्यापार गर्दै आएका उनले तिहारका बेला दैनिक ७० देखि ८० वटासम्म मादल बिक्री हुने गरेको बताए ।

सामान्य समयमा भने दैनिक पाँचदेखि १० वटासम्म मात्र बिक्री हुन्छ । चौधरीले भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर र बेलटार लगायत स्थानमा मादल पठाउँदै आएका छन् । उनले तीन हजारदेखि आठ हजार रुपैयाँसम्मका मादल बिक्री गर्दै आएका छन् । पहिले बाहिरबाट मादल ल्याएर बिक्री गर्ने चौधरीले अहिले आफ्नै कारखानामा मादल बनाउने गरेका छन् ।

आफ्नै कारखाना भएकाले ग्राहकको माग अनुसार आकार र गुणस्तरका मादल बनाउन सहज भएको उनको भनाइ छ । उनको पसल तथा कारखानामा अहिले छ जनाले रोजगारी पाएका छन् भने परिवारका सदस्यले पनि व्यवसायमा सहयोग गर्दै आएका छन् । धरानको मुख्य बजार भानुचोकदेखि पूर्वतर्फको देशी लाइनमा मादलको व्यापार गर्दै आएका यदुनाथ अधिकारीले पनि तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताए ।

विगत १५ वर्षदेखि परिवारका सदस्यसँग मिलेर मादल र खुकुरीको व्यापार गर्दै आएका अधिकारीको पसलमा दुई हजारदेखि सात हजार रुपैयाँसम्मका मादल राखिएका छन् । अधिकारीका अनुसार तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यस समयमा माग बढी हुन्छ । लक्ष्मीपूजादेखि मादलको बिक्री झनै बढ्ने गरेको उनले बताए । कहिलेकाहीँ एकै दिन आठदेखि १० वटासम्म मादल बिक्री हुने गरेको छ ।

भोजपुर, धनकुटा तथा पश्चिम नेपालमा उत्पादित मादल खरिद गरेर बिक्री गर्दै आएका अधिकारीले ग्राहकको माग अनुसार विभिन्न गुणस्तर र मूल्यका मादल राखिएको जानकारी दिए । देउसीभैलो खेल्ने समूहले केही समयका लागि प्रयोग गर्न सस्तो मादल खोज्ने भएकाले महँगा मादल मात्र बिक्रीका लागि नराखिएको उनको भनाइ छ ।

यसैगरी, इटहरी उपमहानगरपालिका–६ का भेषराज अधिकारीले पनि विगत नौ वर्षदेखि मादल र खुकुरीको व्यापार गर्दै आएका छन् । उनका अनुसार तिहारको समयमा मादलको बिक्री उल्लेख्य बढ्ने गरेको छ । तिहारको समयमा रु एक लाखदेखि डेढ लाखसम्मको मादल बिक्री हुने गरेको उनले बताए । तिहारमा देउसीभैलो खेल्ने परम्पराले नेपाली मौलिक बाजा मादलको व्यापारलाई चलायमान बनाउँदै आएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शनिबार