२०८३ कात्तिक २१ , शनिबार 7, November 2026, Saturday

६४ करोडको झिलिमिली आयात

तिहारलाई लक्ष्य गरी ६४ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएको हो ।

गत आवको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएको थियो । यस वर्ष आयात रकमको मूल्य बढे पनि परिमाण भने घटेको छ । उज्यालो पर्वका रूपमा मानिने तिहारमा झिलिमिली बत्तीको प्रयोग गरिन्छ ।

मुलुकमा उत्पादन नहुने विद्युतीय बत्ती बाहिरी मुलुकबाट आयात हुने गर्छ । असनका व्यापारी अशोक झाले यो वर्ष अधिकांश विद्युतीय बत्तीको मूल्य बढेको जानकारी दिए । भोटेकोशीको बाढीले सामान बगाएकाले पनि विद्युतीय सामानको मूल्य बढेर आएकाले बजारमा समेत बढेको उनको भनाइ छ ।

अन्य समयको तुलनामा तिहारमा विद्युतीय बत्तीको व्यापार बढी हुने गरेको उनको भनाइ छ । व्यवसायीका अनुसार कच्चा पदार्थको मूल्य, अमेरिकी डलरको विनिमय दर र ढुवानी खर्च बढ्दा विद्युतीय सामग्रीको मूल्य १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको छ ।

बजारमा १५० रुपैयाँदेखि दुई हजार रुपैयाँसम्मका झिलिमिली बत्ती रहेका छन् । तिहार सुरु भएसँगै घर, पसल, होटेल, रेस्टुरेन्टदेखि सरकारी तथा निजी कार्यालयसम्म झिलिमिली बत्ती राख्न थालिएको छ । नेपालमा खास गरी चीन र भारतबाट यस्ता बत्ती आयात हुन्छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शनिबार