नजिकिँदो तिहार लगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई सस्तो दरमा धान बेच्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यमको रु तीन हजार ८६० निर्धारण गरेको छ ।
तर, व्यापारीले कम्पनीले निर्धारण गरेको मूल्यभन्दा रु ५०० देखि एक हजारसम्म सस्तो दरमा धान खरिद गरिरहेको नेपालगन्ज–१९ सुईयागाउँका किसान ध्रुव थापाले बताए । ‘यस वर्ष धान राम्रै फलेको छ, खाद्यले खरिद गर्ने समयसम्म भण्डारण गरेर राख्ने ठाउँ छैन,’ उनले भने, ‘चाडपर्व खर्च जुटाउन गाह्रो भएकाले पनि यतिबेला किसानले व्यापारीलाई सस्तैमा धान बेच्नुपरेको छ ।’
उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगो दरमा धान खरिद गर्ने भए पनि ढिला गरी खरिद गर्ने र खरिद प्रक्रिया झन्झटिलो भएका कारण किसानले व्यापारीलाई सस्तो दरमा धान बेच्ने गरेको बताए । कम्पनीले गत वर्ष मोटा धानको रु तीन हजार ४६३ र मध्यमको रु तीन हजार ६२८ निर्धारण गरेको थियो ।
कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जले गत वर्ष २० हजार क्विन्टल कोटा तोकेर धान खरिद गरेकामा यस वर्ष अहिलेसम्म कोटा तोकिएको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र स्थानीय सहकारीले धान खरिद सुरु नगर्दा किसान व्यापारीलाई कम मूल्यमा धान बेच्न बाध्य भएको खजुरा गाउँपालिका–२ का किसान गेहेन्द्र धितालले बताए ।
उनले सरकारले धानको समर्थन मूल्य तोके पनि व्यापारीले आफूखुसी मूल्य राखेको बताए । बाँकेका अधिकांश किसानले दसैँअगाडि नै घरमा धान भित्र्याइसकेका छन् । ‘समयमा धान खरिद गर्न कम्पनीको कुनै तयारी नै छैन, बजारमा व्यापारीले सस्तोमा धान खरिद गरिरहेका छन्,’ धितालले भने, ‘वर्षभरिको मिहिनेतलाई किसानले घाटा खाएर बेच्न बाध्य भएका छौँ ।’
अधिकांश मध्यम र निम्नस्तरका किसानलाई भर्खरै भित्र्याएको धान बिक्री गरेर चाडपर्व मनाउने पैसा जुटाउन सस्तोमा बिक्री गर्न बाध्य भएको उनको भनाइ छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले केन्द्रबाट धानको मूल्य निर्धारण भए पनि खरिद कोटा अहिलेसम्म नतोकिएको बताए । केन्द्रबाट कोटा निर्धारण भएको पत्र आउनेबित्तिकै खरिद सुरु गर्ने उनले जानकारी दिए ।
