२०८३ कात्तिक १४ , शुक्रबार 30, October 2026, Friday
अत्याधुनिक सिटी हल

नेपालगन्जको अत्याधुनिक सिटी हल प्रयोगविहीन, अण्डरग्राउण्ड पार्किङमै तलाउ !

सिटी हल निर्माण भएपछि दुई पटक नगरसभा र दुई पटक राजनीतिक दलका कार्यक्रमबाहेक अरू गतिविधि हुन नसकेका छैनन् । सार्वजनिक लगानीबाट बनेको संरचना यसरी बेवारिसे बन्नु दु:खद् हो ।

नेपालगन्जमा ठुलो रकम खर्च गरेर निर्माण गरिएको अत्याधुनिक नगर सभा हल (सिटी हल) सञ्चालनमा नआउँदा प्रयोगविहीन बनेको छ । नेपालगन्ज उपमहानगरपालिका–१४, भवानियापुरमा निर्माण गरिएको सिटी हल प्रयोगविहीन बनेको हो । यहाँ कुनै कार्यक्रम हुँदैनन् । अण्डरग्राउण्ड पार्किङमा पानी जमेर तलाउ बनेको छ भने भवनमा परेवाको बास छ ।

रु ३३ करोड ३४ लाख ७५ हजार ३७० लागतमा निर्माण भएको सिटी हल प्रयोगमा नआउँदै जीर्ण हुने अवस्थामा पुगेको छ । सङ्घीय सरकारले निर्माण गरेको सुविधा सम्पन्न सिटी हलको २०८१ फागुन १३ गत उद्घाटन गरिएको थियो । उद्घाटन हुँदा यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने अपेक्षा गरिएको थियो । हल सञ्चालन हुन नसक्दा स्थानीयवासी निराश बन्न पुगेका छन् ।

सिटी हलमा दैनिकजसो कार्यक्रम हुँदा स्वाभाविक रूपमा चहलपहल बढ्ने भए पनि हाल कुनै गतिविधि नहुँदा सुनसान रहेको स्थानीयवासी समेत रहेका नेपालगन्ज–१४ का पूर्ववडाध्यक्ष ओमकार मिश्राले बताए । उनले सञ्चालनको जिम्मा लिएको नेपालगन्ज उपमहानगरपालिकाले हल सञ्चालनका लागि विशेष चासो दिनुपर्ने बताए । कुल ७९५ जना अट्ने क्षमताको हल सञ्चालनमा नआउँदा आफूहरू निराश भएको मिश्राको भनाइ छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले राज्यको ठुलो रकम खर्च भएर बनेको सिटी हललाई दीर्घकालीन रूपमा सञ्चालन गर्न स्थानीय सरकारले चासो दिनुपर्ने बताए । ‘ठूलाठूला सरकारी कार्यक्रम होटलमा हुने गरेका छन्, उता सरकारी सभा हल बन्द अवस्थामा छ,’ उनले भने, ‘नगर सभा हल सञ्चालनका लागि उपमहानगरपालिका नेतृत्वले विशेष चासो दिन जरुरी छ ।’

नेपालगन्ज सिटी हलमा ठुलो हलसहित अन्य चार वटा साना हल, प्रशासनिक कक्ष, पार्किङ लगायत पूर्वाधार निर्माण गरिएको छ । सभा हल निर्माण सम्पन्न भएपछि नेपालगन्जमा ठुलो क्षमताका कार्यक्रम गर्न सहज हुने विश्वास गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले सहरभन्दा टाढा भएकाले सिटी हलमा कुनै गतिविधि सञ्चालन हुन नसकेको बताए ।

सिटी हल निर्माण भएपछि दुई पटक नगरसभा र दुई पटक राजनीतिक दलका कार्यक्रमबाहेक अरू गतिविधि हुन नसकेको उनले जानकारी दिए । ‘सिटी हल सञ्चालनको जिम्मा दिन बोलपत्र खोल्यौँ, तर ठाउँका कारणले होला कुनै प्रस्ताव नपरेपछि अहिले नगरपालिकाले नै मान्छे राखेर रेखदेख गर्दै आएको छ,’ प्रवक्ता रिजालले भने, ‘नगरको केन्द्रबाट टाढा भएकाले पनि कार्यक्रम हुन सकेनन् । अहिले कर्मचारीले भवन कुर्ने काम भएको छ ।’

सिटी हल उद्घाटन भएको करिब दुई वर्ष पुग्न लाग्दासमेत नियमित सञ्चालनमा आउन नसकेर प्रयोगविहीन बनेको छ । उपमहानगरपालिकाका अनुसार सभागृह निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिने वा नगरपालिकाले आफैँ सञ्चालन गर्ने भन्ने विषयमा केही दिनभित्र निर्णय गर्ने तयारी छ । सार्वजनिक लगानीबाट बनेको संरचना यसरी बेवारिसे बन्नु दु:खद् हो । यसको उपयोगिताका लागि तत्काल ठोस योजना बनाउन जरुरी छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १४ गते शुक्रबार