नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण शनिबार हुने भएको छ । उनको शपथग्रहण शनिबार फूलपातीको दिन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
उनले गत असोज २३ गते भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सकिएकाले अब दशैँपछिमात्र शपथको कार्यक्रम गर्ने भनिए पनि सभापतिको शपथ शनिबार गरिने बताएका हुन् । यसअघि भने सबैको शपथ दशैँपछि गर्ने बताइएको थियो । कटुवालले सभापतिको शपथग्रहणमात्र शनिबार गर्ने र अन्यको भने दशैँपछि नै हुने बताए ।
उनले भने, ‘सभापतिको शपथमात्र शनिबार दिउँसो २ बजे हुन्छ । अन्य त कतिपय दशैँ मनाउन जिल्ला जिल्लामा गइसक्नु भएको छ । उहाँहरूको एकैपटक दशैँपछि हुन्छ ।’ यता पार्टी कार्यालयले पनि शनिबार दिउँसो सभापतिको शपथग्रहण हुने विज्ञप्ति जारी गरेको छ । गत असोज २३ गते मतदान गरी त्यहीदिन राति सभापतिको मतगणना गरेर शुरू भएको मतगणना कार्य झण्डै एक हप्तामा सकिएको हो ।
राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो । अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपीनगर, सानेपामा गरिएको थियो । १४ औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको कटुवालले जानकारी दिए ।
उनका अनुसार गणना शुरू भएकै दिनदेखि दिन र रातमा झण्डै २५ समूह बनाएर गणना गराइएको थियो । मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सृजना नभएको र सौहार्दपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको उनको भनाइ छ । यसपटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नु परेको उनले बताए ।
कूल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ ओटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो । अघिल्लो महाधिवेहअधिवेशनको तुलनामा यसपटकको मतगणना दोब्बरभन्दा बढी छिटो भएको निर्वाचन समितिका सदस्य सचिव कटुवालको दाबी छ । सभापति बाहेकको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम भने दशैँ लगत्तै गर्ने तयारी भएको छ ।
त्यसपछि नै यो कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले जानकारी दिएका छन् । उक्त बैठकमै स्थानीय तहको निर्वाचनको खाकासमेत बनाउने तयारीसमेत भइरहेको बुझिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा हुने कार्यक्रममा सहभागी हुन उपत्यकामा रहेका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको छ ।

