नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहे पनि इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्य अनुसार निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको साविककै मूल्य कायम राखेको हो ।
निगमले बिहीबार जारी प्रेस विज्ञप्ति अनुसार आइओसीबाट २०८३ असोज २९ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्नुपर्ने भए पनि उपभोक्तालाई राहत दिने उद्देश्यले हाल कायम बिक्री मूल्यलाई निरन्तरता दिइएको छ । निगमले सार्वजनिक गरेको मूल्यसूची अनुसार पेट्रोलको पहिलो वर्गको मूल्य प्रतिलिटर १९७५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १९९ रुपैयाँ र तेस्रो वर्गको २०० रुपैयाँ कायम छ ।
त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ प्रतिलिटर रहेको छ । हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर २४९ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम छ । निगमका अनुसार पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।


