बाँकेको राप्तीसोनारी गाउँपालिकामा आधुनिक सिल्की चामल मिल सञ्चालनमा आएको छ । स्थानीय साकार कृषि सहकारी संस्था लिमिटेडले मिल सञ्चालनमा ल्याएपछि किसानलाई गाउँमै धान प्रशोधन गरी चामल बनाउन सहज हुने भएको छ ।
सहकारीका अध्यक्ष हुमाशङ्कर वलीका अनुसार स्थानीय किसानलाई लक्षित गरी सञ्चालनमा ल्याइएको मिलले कृषि उपजको प्रशोधन तथा बजारीकरणमा सहयोग पुर्याउनेछ । उनले किसानको आवश्यकता अनुसार आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना रहेको बताए ।
सहकारीका मुख्य व्यवस्थापक जमानसिंह वलीका अनुसार मिल स्थापनाका लागि ५५ लाख रुपैयाँ लगानी गरिएको छ । यसमध्ये राप्तीसोनारी गाउँपालिकाले २० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ भने बाँकी ३५ लाख रुपैयाँ सहकारीले लगानी गरेको छ । मिल सञ्चालनमा आएसँगै किसानले आफूले उत्पादन गरेको धान सहकारीमार्फत बिक्री गर्न तथा आवश्यकताअनुसार प्रशोधन गरी चामल बनाउन सक्नेछन् ।
यसबाट धान प्रशोधनका लागि टाढाका बजारसम्म पुग्नुपर्ने बाध्यता कम हुनुका साथै समय र ढुवानी खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ । सहकारीले आगामी दिनमा खाद्यान्न पिसेर पिठो बनाउने तथा तोरीलगायत तेलहन बालीबाट तेल निकाल्ने आधुनिक मेसिनसमेत जडान गर्ने तयारी गरेको मुख्य व्यवस्थापक वलीले बताए । यी सेवा विस्तार भएपछि स्थानीय किसानले कृषि उपज प्रशोधनका लागि थप सुविधा गाउँमै पाउनेछन् ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले स्थानीय सरकार र सहकारीको सहकार्यमा आधुनिक प्रविधियुक्त चामल मिल सञ्चालनमा आउनु कृषि क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले यसले स्थानीय कृषि उपजको मूल्य अभिवृद्धि गर्न तथा किसानको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । स्थानीयस्तरमै कृषि उपजको प्रशोधन र बजारीकरणको सुविधा विस्तार हुँदा किसानलाई उत्पादन बढाउन प्रोत्साहन मिल्ने र व्यावसायिक कृषितर्फ आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।

