अन्तर्राष्ट्रिय भुक्तानी सहज बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार नेपालका वाणिज्य बैंकहरूबाट प्रिपेड डलर कार्ड लिन सकिन्छ । विशेषगरी सामाजिक सञ्जालमा विज्ञापन गर्न, अनलाइन शपिङ तथा विभिन्न विदेशी सफ्टवेयर वा डिजिटल सेवाहरूको भुक्तानी गर्न चाहने नेपालीहरूका लागि डलर कार्ड प्रभावकारी माध्यम बन्दै गएको छ ।
डलर कार्डमार्फत साधारण प्रयोगकर्ताहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलरसम्म खर्च गर्न पाउँछन् । त्यसैगरी, विदेश घुम्न जाने राहदानीबाहकहरूका लागि तीन हजार डलरसम्मको सुविधा उपलब्ध छ भने आईटी कम्पनी तथा फ्रिलान्सरहरूका लागि वार्षिक तीन हजारदेखि पाँच हजार डलरसम्मको विशेष व्यवस्था गरिएको छ ।
यद्यपि, नेपाल राष्ट्र बैंकको नियम अनुसार एक व्यक्तिले जुनसुकै बैंकबाट भए पनि एउटा मात्र प्रिपेड डलर कार्ड लिन पाउँछन् । डलर कार्ड बनाउनका लागि सम्बन्धित बैंकमा ग्राहकको सक्रिय बचत खाता हुनु अनिवार्य छ । यसका साथै स्थायी लेखा नम्बर (प्यान कार्ड) अनिवार्य गरिएको छ भने बैंकमा ग्राहकको व्यक्तिगत विवरण (केवाईसी) पूर्ण रूपमा अपडेट भएको हुनुपर्छ ।
यी आधारभूत कागजात तथा प्रक्रिया पूरा भएका जो–कोहीले पनि डलर कार्डका लागि आवेदन दिन सक्छन् । कार्ड लिनका लागि बैंकको शाखा नै पुग्नुपर्ने बाध्यता प्रायः हटेको छ । अधिकांश वाणिज्य बैंकहरूले आफ्ना मोबाइल बैंकिङ एप वा अनलाइन पोर्टलबाटै डलर कार्ड आवेदन दिने सुविधा दिएका छन् ।
प्रयोगकर्ताले मोबाइल एपको ‘काड्र्स’ वा ‘एप्लाई अनलाइन’ सेक्सनमा गएर भर्चुअल वा फिजिकल (प्लास्टिक) कार्डका लागि आवेदन दिन सक्नेछन् । यद्यपि, केही बैंकहरूमा पहिलो पटक कार्ड एक्टिभेट गर्न वा डलर लोड गर्ने स्वघोषणा फाराम भर्न भौतिक रूपमै सम्बन्धित शाखा कार्यालयमा उपस्थित हुनुपर्ने अवस्था पनि रहन सक्छ । डलर कार्ड जारी गर्दा बैंकहरूले निश्चित शुल्क लिने गर्दछन्, जुन बैंकपिच्छे केही फरक हुन सक्छ ।
मोबाइल वा ईमेलमा मात्र उपलब्ध हुने भर्चुअल कार्डका लागि सामान्यतया ३०० देखि ५०० रुपैयाँसम्म शुल्क लाग्छ भने हातमा पाइने फिजिकल कार्डका लागि ५०० देखि १,५०० रुपैयाँसम्म लाग्ने गर्दछ । यसका साथै कार्डमा रकम लोड गर्दा बैंकहरूले प्रत्येक पटक १०० देखि ५०० रुपैयाँसम्म ‘रिलोड फी’ काट्ने गर्दछन् । बैंकअनुसार शुल्क र प्रक्रियामा केही भिन्नता हुन सक्ने भएकाले कार्ड लिनुअघि आफ्नो खाता रहेको बैंकमा सोधपुछ गर्नु उपयुक्त हुन्छ ।
