प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गतेयता देखिएको विपद् व्यवस्थापनको काम संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा निरन्तर भइरहेको बताएका छन् । उनले सरकार कुनै पनि सम्झौता नगरी विपद् व्यवस्थापन तथा राहतका काममा निरन्तर खटिरहेको स्पष्ट पारे ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको पनि सहभागिता रहेको थियो ।
मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै शाहले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम परिचालन गरी विपद् व्यवस्थापनको काम तीव्र रूपमा अघि बढाइएको बताए । ‘हामीले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु,’ उनले भने ।
शाहले भोटेकोशी–त्रिशूली, गण्डकी लगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययनसँगै त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको बताउँदै विपद् जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन लागेको पनि बताए । साथै, सरकारले हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम गरिहेको उनको भनाइ छ ।
उनले हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक तयारी अघि बढाइएको जानकारी दिए । प्रधानमन्त्री शाहले विपद्का बेला ज्यानको जोखिम मोलेर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधि लगायत सबैप्रति कृतज्ञता व्यक्त गरे ।
