२०८३ असोज १९ , सोमबार 5, October 2026, Monday

बालेनले मंसिरमा भारत भ्रमण गर्ने, बाढीपछिको पुनःनिर्माण प्राथमिकतामा

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमण तयारी तीव्र रूपमा अघि बढाइएको छ । उच्च स्रोतका अनुसार, सन् २०२६ नोभेम्बर अन्तिम साता वा डिसेम्बर पहिलो साता (मंसिर दोस्रो वा तेस्रो साता) प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्ने गरी तयारी गरिएको छ ।

‘प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु भएको छ । मिति ठ्याक्कै तोकिएको छैन तर आगामी नोभेम्बरको अन्तिम साता वा डिसेम्बर पहिलो साता गर्ने गरी भ्रमणको तयारी चलिरहेको छ,’ उच्च स्रोतले भन्यो ।

अहिले परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयका अधिकारीहरूबीच प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई कसरी सफल बनाउने भन्ने विषयमा छलफल चलिरहेको स्रोतले बतायो ।

‘विभिन्न मन्त्रालयहरूसँग छलफल गरी एजेन्डा सेट गर्ने कार्यमा परराष्ट्र मन्त्रालय जुटेको छ । सबै मन्त्रालयबाट एजेन्डा आएपछि भारतसँग थप छलफल गरिनेछ,’ स्रोतले भन्यो, ‘भ्रमणका बेला सबैभन्दा बढी प्राथमिकता भोटेकोसी बाढीपछिको पुनःनिर्माणले पाउने छ ।’

२०८२ चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै बालेनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका थिए । त्यसपछि विविध कारणले प्रधानमन्त्री बालेनले भारत भ्रमणमा गएका थिएनन् । अहिले प्रधानमन्त्री बालेन भारत भ्रमणको लागि तयार भएपछि परराष्ट्र मन्त्रालयले तयारीलाई तीव्र रूपमा अघि बढाएको छ ।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार