२०८३ असोज १९ , सोमबार 6, October 2026, Tuesday

बाढीको पीडा समेटिएको गीत ‘खै कहाँ छ मेरो गाउँ’

आफू हुर्किएको, खेलेको थलो एकै छिनमा बगर बन्यो । भोटेकोसीको बाढीले वर्षौंदेखि सजाएका सपना सबै बगायो । सबै गुमाएपछि पनि गायक प्रचण्ड राईसँग एउटा कुरा बाँकी रह्यो । उनको आवाज । त्यही आवाजमा आफ्नो पीडा उतारेर उनले ल्याएको म्युजिक भिडियो ‘खोइ कहाँ छ मेरो गाउँ’ सार्वजनिक भएको छ ।

बाढीले पुर्याएको विनाशकारी क्षति र पीडालाई आधार बनाएर तयार पारिएको गीत ‘खै कहाँ छ मेरो गाउँ’ गायक प्रचण्डबाबु राईको स्वरमा सार्वजनिक गरिएको हो । प्रकृतिको कहालीलाग्दो विपत्ति, बाढीले निम्त्याएको पीडा, गुमेका आफन्त, उजाडिएका घर–आँगन र हजारौँ मानिसका भावना यो गीतमा समेटिएको छ ।

भोटेकोसीको बाढीले धेरै परिवारलाई एकै रातमा घरबारविहीन बनाएको छ । ‘बाढीले सबैको घर लग्यो, जमिन लग्यो, अनि सँगसँगै धेरै सपना पनि बगाएर लग्यो । तर मेरो आवाज अझै बाँकी छ । यही मेरो शक्ति हो र चर्किएको छातीको औषधि पनि,’ राईले भने । गीत उमेश लम्सालले लेखेका हुन् । हरि लम्सालले संगीत भरेका छन् । गीतको भिडियो पनि तयार पारिएको छ ।

सुदीप मैनालीको छायांकन र निरञ्जन केसीको सम्पादन रहेको म्युजिक भिडियोमा बाढीका कारण आफन्त र घरपरिवार गुमाउनुपर्दाको पीडा देखाइएको छ । बाढी प्रभावित क्षेत्रमै खिचेर भिडियो तयार गरिएको निर्देशक पोखरेलले जानकारी दिए । बाढीग्रस्त नुवाकोटको देविघाटमा खिचिएको भिडियोमा गायक राई र पवित्रा आचार्यको अभिनय देख्न सकिन्छ ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार