२०८३ असोज २० , मंगलबार 6, October 2026, Tuesday

४० करोड थान एक रुपैयाँका सिक्का छाप्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका नयाँ सिक्का छाप्ने भएको छ । राष्ट्र बैंकले एक रुपैयाँ दरका नयाँ सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । इच्छुक कम्पनीले आगामी नोभेम्बर २ तारिखसम्म बोलपत्र प्रस्ताव पेस गर्नुपर्नेछ ।

बोलपत्र राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा पेस गर्नुपर्नेछ । बोलपत्रमा सहभागी हुने योग्य कम्पनीले २० हजार रुपैयाँ, १३१ अमेरिकी डलर वा ११५ युरो धरौटी राख्नुपर्नेछ । राष्ट्र बैंकले छनोट गरेका कम्पनीले सिक्काको डिजाइन, छपाइ तथा आपूर्तिसम्मको काम गर्नुपर्नेछ ।

बोलपत्रमा राष्ट्र बैंकबाट यसअघि प्राविधिक तथा अन्य आवश्यक मापदण्ड पूरा गरी योग्य सूचीमा परेका विदेशी सुरक्षा मुद्रण तथा सिक्का उत्पादन कम्पनीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

योग्य कम्पनीको सूचीमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनीको गिसिके एन्ड डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्यान्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ रहेका छन् ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार