२०८३ असोज १८ , आइतबार 4, October 2026, Sunday

कांग्रेसको १५ औँ महाधिवेशन आजदेखि, भोलि मनोनयन दर्ता

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुला मञ्चलाई सजाएर तयारी अन्तिम चरणमा पुर्याइएको छ । महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे हुने कार्यक्रम छ ।

असोज १८ गतेदेखि सुरु हुने महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ । महाधिवेशनका लागि देश तथा विदेशबाट अधिकांश प्रतिनिधि काठमाडौं पुगेका छन् । राजधानीका विभिन्न होटेलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

कांग्रेसका अनुसार महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ । उद्घाटन समारोहमा कांग्रेसले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत लगायत सहभागी हुने अपेक्षा गरिएको छ ।

कांग्रेसले भारत, चीन, अमेरिका लगायतका मुलुकबाट समेत विदेशी पाहुनालाई निमन्त्रणा गरेको छ । सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन् । अन्य देशका पार्टीहरुको पनि प्रतिनिधि वा शुभकामना सन्देश आएको कांग्रेसले जनाएको छ ।

महाधिवेशनका लागि खुलामञ्चमा मुख्य मञ्चसँगै बन्दसत्र सञ्चालनका लागि तीनवटा हल तयार पारिएको छ । सञ्चारकर्मीका लागि मिडिया सेन्टर, स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क तथा प्रतिनिधिको खानाका लागि भृकुटीमण्डपमा व्यवस्था गरिएको भोजन व्यवस्थापन समितिका संयोजक तिलक रानाभाटले जानकारी दिए ।

महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सभापति गगनकुमार थापाले राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम छ भने उपसभापति, महामन्त्री र कोषाध्यक्षले समेत आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन् । असोज १९ गते उम्मेदवारी मनोनयनको कार्यक्रम राखिएको छ ।

त्यसपछि असोज २१ र २२ गते निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने कांग्रेसको कार्यतालिका छ । मतदान खुलामञ्चसहित राष्टिय सभागृह र प्रज्ञा प्रतिष्ठानमा गर्ने तयारी भइरहेको निर्वचान समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् । यसपटकको महाधिवेशनको नारा ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प ः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ तय गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार