२०८३ असोज १८ , आइतबार 4, October 2026, Sunday

सुर्खेतमा इन्धन भण्डारण गृह निर्माण गर्दै आयल निगम

नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेतमा ४२० किलोलिटर (चार लाख २० हजार लिटर) क्षमताको इन्धन भण्डारण गृह निर्माण सुरु गरेको छ । कर्णालीमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउने उद्देश्यसहित डिजेल २८० किलोलिटर क्षमता (दुई लाख ८० हजार लिटर) र पेट्रोल १४० किलोलिटर (एक लाख ४० हजार लिटर) क्षमताको भण्डारण गृह निर्माण सुरु गरिएको हो ।

सुर्खेतमा डिजेल, पेट्रोलको भण्डारण गृह नभएकाले कर्णाली प्रदेशलक्षित भण्डारण गृह निर्माण भइरहेको निगमले जनाएको छ । बाँकी सबै प्रदेशमा इन्धन भण्डारण गृह भए पनि कर्णालीमा छैन । हाल कर्णाली प्रदेशमा भण्डारण नहुँदा ट्याङ्करबाट नेपालगन्जदेखि इन्धन आपूर्ति भइरहेको छ । अहिले निगमसँग मुलुकभर एक लाख दुई हजार १८४ किलोलिटर इन्धन (डिजेल, पेट्रोल, मटितेल र हवाई इन्धन) भण्डारण रहेको छ ।

सुर्खेतमा नयाँ डिपो निर्माणसँगै थप ४२० किलोलिटर भण्डारण थपिनेछ । निगमका अनुसार डिजेलका ७०–७० किलोलिटर क्षमताका चार वटा र पेट्रोलका लागि ७०–७० किलोलिटर क्षमताका दुई वटा गरी ४२० किलोलिटर क्षमताका ठुला भूमिगत ट्याङ्की निर्माण भइरहेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले एक साताको माग धान्ने गरी भण्डारणगृह निर्माण भइरहेको जानकारी दिए । सुर्खेतमा भण्डारण गृह निर्माण भएपछि कर्णाली प्रदेशमै आपूर्ति व्यवस्था सहज हुने ठाकुरको भनाइ छ ।

‘इन्धन भण्डारण नहुँदा भारतबाट आएको इन्धन नेपालगन्जस्थित डिपोमा राखेर मात्र कर्णालीमा पठाउनुपर्ने बाध्यता थियो,’ प्रवक्ता ठाकुरले भने, ‘अब सुर्खेतमै आफ्नै डिपो सञ्चालनमा आएसँगै नेपालगन्जको भर पर्नुपर्ने अवस्थाको अन्त्य भई आपूर्ति व्यवस्था सहज हुनेछ ।’ अहिले भण्डारण नहुँदा नेपालगन्जबाट ट्याङ्कर लैजानुपर्ने भएकाले आपूर्तिमा असहज हुँदा बजारमा समय समयमा इन्धन अभाव हुने गर्छ ।

अहिले ३५ प्रतिशत काम सकिसकेकाले चालु आवभित्रमै भण्डारण गृह निर्माण गरिसक्ने निगमले जनाएको छ । निगमका अनुसार हालसम्म कम्पाउन्ड वाल (घेराबार), ट्याङ्कीको फाउन्डेसन निर्माण पूर्ण रूपमा सकिएको छ । ट्याङ्कीहरूको फ्याब्रिकेट कार्य सकिएर ट्रान्सपोर्टेसनको चरणमा रहेको छ । करिब ११ करोड लागतका सो भण्डारणगृह निर्माण भइरहेको निगमले जनाएको छ । निगमका अनुसार कर्णाली प्रदेशमा हाल दैनिक पेट्रोल ४० देखि ६० किलोलिटर र डिजेल १२० देखि १४० किलोलिटर खपत हुने गरेको छ ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार