२०८३ असोज १७ , शनिबार 3, October 2026, Saturday

खाद्यले यस बर्षको दशैंमा बेच्दैन खसीबोका

यस बर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका बेला खसीबोका र च्यांग्रा नबेच्ने भएको छ । बजार मूल्यलाई सन्तुलनमा राख्न भनेर अघिल्ला वर्षहरुमा खाद्यले खसीबोका र च्याङ्ग्रा बेच्ने गरेको थियो ।

तर सडकमा बेलाबेलामा हुने अवरोधले खसीबोकाका तौल घट्ने र मर्नेसमेत जोखिम देखिएको भन्दै खाद्यले यसपालि खसीबोका र च्यांग्रा बिक्री नगर्नै भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुचना अधिकारी माधव मिश्रले जनाए । खसीबोका खरिदबिक्रीमा निरन्तर घाटा लागेपछि यसपालि खाद्यले खसीबोका भने नबेच्ने भएको मिश्रको भनाइ छ ।

‘यसअघिका वर्षमा निरन्तर घाटा बेहोर्नुपरेको थियो । यसपटक सडकमा देखिएको समस्याले ढुवानीमा समेत कठिनाइ हुने देखिएपछि यसपटक पनि खसीबोका नबेच्ने भएका हौं,’ उनले झने, ‘त्यसैले यस वर्ष बजेट कार्यक्रममै खसीबोका खरिदवित्रीको विषय राखेका थिएनौं ।’ कतिपय कर्मचारी भने बजारमा ठूलो हस्तक्षेप गरेर मूल्यवृद्धिलाई नियन्त्रण गर्न नसकिने भएकाले पनि खसीबोका किनबेचबाट खाद्य पछि हटेको दाबी गर्छन् ।

‘बजारमा त्यति धेरै ठूलो हस्तक्षेप गरेर खसीबोका र च्याङ्ग्राको भाउ नियन्त्रण गर्न नसकेको देखिएकाले पनि बरु खाद्यान्नमा केही गरौं भनेर पनि खसीबोका बेच्न छाडेका हौं,’ खाद्य कम्पनीका एक कर्मचारीले भने । गत वर्ष खाद्यले जेनजी आन्दोलनका कारण खसीबोका नबेच्ने निर्णय गरेको थियो । दुःखद समय भन्दै त्यति बेला खसीबोका नबेच्ने निर्णय गरिएकामा यसफालि बजेट कार्यक्रममै खसी तथा च्याङ्ग्राको बेचबिखन गर्ने कार्यत्रम समावेश गरिएको थिएन ।

चिनी भने खाद्यले बाहिर बजारमा पाइनेभन्दा १६ रुपैयाँ सस्तोमा बिक्री गरिरहेको छ । ४४ जिल्लामा रहेका १९३ स्थानमा सञ्चालन भइरहेका खाद्यका सुपथ पसलमा सस्तोमा चिनी बिक्री भइरहेको कम्पनीले जनाएको छ । अहिले काठमाडौं उपत्यकाका सुपथ पसलमा १०९ रुपैयाँमा चिनी उपलब्ध रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी मिश्रले बताए ।

उपत्यका बाहिरका पसलमा भने प्रतिकिलो ११० रुपैयाँमा चिनी बिक्री भइरहेको उनको भनाइ छ । ‘बाहिर बजारमा पाइनेभन्दा हामीले चिनी सस्तोमा बेचेका छौं,’ मिश्रले भने, ‘गत साउनदेखि सुरु भएका सुपथ पसलमा हामीले चिनीबाहेक अन्य खाद्यान्नमा पनि छुट दिएका छौं ।’ बजारमा अहिले चिनीको मूल्य प्रतिकिलो १२५ देखि १३० रुपैयाँसम्ममा विक्री भइरहेको देखिन्छ ।

तर ग्राहकलाई राहत दिन भनेर सरकारले नै बजेट दिएकाले खाद्य कम्पनीले सस्तोमा चिनी बिक्री गरेको बताएको छ । यसअघि ६ किलोसम्म मात्रै सुपथ पसलबाट चिनी खरिद गर्न पाइने सीमा रहेकामा बिहीबारदेखि यस्तो सीमा बढाएर प्रतिग्राहक २५ किलोसम्म पुर्याइएको छ ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिबार