नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गतेदेखि हुने १५ औँ महाधिवेशनको तयारी गरिरहेकै बेला सो पार्टीको इतर समूह देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको र यसका लागि आज वडा अधिवेशन गर्ने भएको हो ।
देउवा समूहले पनि १५ औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेका लागि तोेकेको छ । सोहीअनुसार नै यस समूहले यही असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर सोको जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ ।
सो समूहले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतसमेत पठाइसकेको जानकारी सो पार्टीका नेता किरणराज पौडेलले दिए । कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो ।
तर संस्थापन पक्ष भने यही असोज ३ गतेदेखि नै महाधिवेशनमा होमिइसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो । देउवा पक्षले आजदेखि सुरु गर्न लागेको वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजक पनि खटाइएको जनाएको छ । देउवा पक्षीय समूह १४ औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।
सो समूहको महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताउँदै कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता र क्रियाशील सदस्यहरुलाई उच्च मनोबल, उत्साह र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन् । उता, नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले पार्टीको १५ औँ महाधिवेशनबाट आन्तरिक मतभेद समाधान हुने बताएका छन् ।
उनले आजबाट सुरु हुन लागेको १५ औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशनमा उल्लासपूर्ण ढंगले सहभागी हुन पनि नेता कार्यकर्तालाई अपिल गरेका छन् । देउवाले सामाजिक सञ्जाल मेटामा सन्देश लेख्दै आठ दशक लामो इतिहास बोकेको पार्टीको १५औँ महाधिवेशन निकै महत्वपूर्ण रहने भएकाले नेता कार्यकर्तालाई सहभागी हुन अपिल गरेका हुन् ।
‘नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका बलिदान, त्याग र सर्घषलाई थप मजब्ुत बनाउन १५ औं महाधिवेशन हाम्रा लागि निकै महत्वपूर्ण छ,’ उनले भनेका छन्, ‘तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा आजदेखि देशभरका ६ हजार ७४३ वडामा एकै साथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्ष उल्लासका साथ सहभागी भएर सम्पन्न गर्न हार्दिक अनुरोध गर्दछु ।’ उनले पार्टीभित्रको मतभेद १५ औं महाधिवेशनमार्फत समाधान गरेर पार्टी अरु मजबुत बनाउने प्रण गरेका छन् ।
